images
images

सदरमुकामको औद्योगिक ग्राममै छैन उद्योग, गाउँमा कसरी चल्लान् भन्ने चिन्ता


  • 415
    SHARES
  • २०८० कार्तिक १८ गते शनिबार

    सदरमुकामको औद्योगिक ग्राममै छैन उद्योग, गाउँमा कसरी चल्लान् भन्ने चिन्ता

    हिले । स्थानीय घरेलु उद्योगलाई एकत्रित गरी सञ्चालन गर्ने उद्देश्यले धनकुटामा आवश्यक संरचना निर्माण गरेको तीन चार वर्ष बितेको छ ।

    औद्योगिक व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको जग्गा औद्योगिक ग्रामको नाममा ल्याएर २०७५ सालमा औद्योगिक ग्रामको पहिलो चरणको काम सम्पन्न गरी सञ्चालनको तयारी गरियो । अहिले यहाँ दुई चरणमा गरी १४ करोड बढी रकम खर्च गरी २७ ब्लक निर्माण भएका छन् ।

    पहुँच मार्ग, पर्खाल, गेट, दुई वटा ट्वाइलेट बाथरुम, नाली र पानी ट्याङ्की निर्माण गरिएको छ । साना उद्योगसहित आवास, बिक्री कक्ष, बाल केयर सेन्टर, स्वास्थ्य सेवालगायतको सबै सेवा औद्योगिक ग्रामभित्रै उपलब्ध हुने गरी तयारी गरिएको छ । अहिलेसम्म केही ब्लक उद्योग सञ्चालनका लागि सम्झौता त भएका छन् । तीसमेत सञ्चालन हुने अत्तोपत्तो छैन । 

    यहाँ उद्योग सञ्चालन गर्नेलाई विभिन्न प्रविधि भाडामा सहुलियतलगायतको सुविधा दिइएको छ तर पनि उद्यमी योप्रति आकर्षित हुन नसकेका घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख ईश्वर थापा बताउँछन् । “हामीले हुनेसम्म सेवासुविधा दिने कोसिस गरेका छौँ, यहाँ उद्योग सञ्चालन गर्नेलाई १० लाखसम्मको प्रविधि दिने भनेका छौँ, भाडा छुटका लागि प्रयास गरिरहेका छौँ तर पनि स्थानीय घरेलु उद्योग आकर्षित हुन सकेका छैनन्,” थापा भन्छन्। 

    स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवर्धनका लागि करोडौँ रुपैयाँ खर्च गरी धनकुटामा औद्योगिक ग्राम निर्माण गरिएको हो । औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले धनकुटाको अमलेटारमा २०३९ सालमा ५८ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । 

    लामो समयसम्म कुनै पनि उद्योग स्थापना नभएपछि औद्योगिक व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको जग्गा औद्योगिक ग्रामको नाममा ल्याएर औद्योगिक ग्राम स्थापनाको तयारी गरियो । पहिलो चरणमा सुर्खेत र धनकुटामा औद्योगिक ग्राम स्थापनाको तयारी गरिए पनि धनकुटामा भने पहिलो र दोस्रो चरणको भवन निर्माण भइसकेको छ । सञ्चालन भने हुन सकेको छैन । 

    करिब १५ करोड रुपैयाँको लागतमा निर्माण गरिसकिएको करिब दुई दर्जनभन्दा बढी ब्लक प्रयोगविहीन छन् । सबैलाई पायक पर्ने स्थानमा नभएका कारण उद्योगीले ग्रामभित्र उद्योग सञ्चालन गर्न चासो नदिएको लघुउद्यमीको भनाइ छ । 

    बजारभन्दा पर हुनु तथा यसका बारेमा धेरै उद्यमीलाई जानकारी नभएका कारण औद्योगिक ग्राममा उद्यमीको ध्यान नपुगेको कविता फलफूल प्रशोधन केन्द्रकी सञ्चालन कविता कन्दङ्वा बताउनुहुन्छ । 

    त्यस्तै लघु, घरेलु उद्योग ठुला लगानीका भन्दा पनि साना लगानी आफैँले घरको काम सकेर गर्ने खालका भएर पनि प्रयोगमा नआएको हुन सक्ने उनको भनाइ छ । 

    “हाम्रा उद्योग आफैँले घरको काम गदै त्यता पनी काम गर्ने खाले मात्र छन्, औद्योगिक ग्राममा सञ्चालन गर्दा त बेग्लै कर्मचारी राख्नु प¥यो, बेग्लै बजार व्यवस्थापक राख्नु प¥यो, त्यसैले पनि योप्रति उद्यमीको आकर्षण हुन नसकेको हो,” कन्दङ्वा भन्छन् । 

    त्यसो त यही ग्राम सञ्चालनमा नआउँदै सरकारले घोषणा गरेको एक पालिका एक औद्योगिक ग्रामको कामसमेत धनकुटामा अघि बढेको छ । एकातिर निर्माण भएको औद्योगिक ग्राम लामो समय बित्दासम्म सञ्चालन हुन सकेको छैन । अर्कोतिर अन्य स्थानीय तहले केन्द्र सरकारको आर्थिक सहयोगमा एक पालिका एक औद्योगिक ग्राम निर्माणको कार्य अघि बढाइरहेको छ । 

    धनकुटाको छथर जोरपाटी गाउँपालिकाले केही ब्लक निर्माण गरिसकेको छ । जिल्लाका महालक्ष्मी, पाख्रीबास, साँगुरीगढी, चौबिसे र सहिदभूमिले समेत ग्रामका लागि जग्गा प्राप्ति गरी पूर्वाधार र संरचना निर्माणको कार्य अघि बढाउने तयारी गरेका छन् । 

    जिल्लाको केन्द्रमा भएको औद्योगिक ग्रामसमेत सञ्चालनमा आउन नसकेको अवस्थामा पालिका पालिकामा निर्माण भएका ग्राम कसरी सञ्चालन हुन सक्ला भनेर धनकुटामा यदाकता बहससमेत हुने गरेको छ । यता पालिका प्रमुखहरू भने ग्राम चलाउन समस्या नहुने बताउँछन् । निर्माण गरेपछि सञ्चालन गर्न सकिने महालक्ष्मी नगरपालिका धनकुटाका प्रमुख ध्रुवराज राय बताउँछन् ।

    त्यसो त निर्माण सुरु गरेका पालिकालाई पनि त्यति सहज छैन । निर्माण सम्पन्न नहुँदै बजेट रोकिन थालेको छ । जसले निर्माण कार्य नै अन्योलमा पर्ने चिन्ता उत्तिकै छ । केही ब्लक निर्माणपछि बजेट कटौती भएकाले कहिले निर्माण हुन्छ भन्ने टुङ्गो नभएको छथर जोरपाटी गाउँपालिका धनकुटाका प्रमुख छत्र सुब्बा बताउँछन् । “बजेट रोकिएको छ, सडक पूर्वाधारसमेत तयारी भइसकेको छैन, कसरी सञ्चालन होला र ?” सुब्बा भन्छन् । 


    images
    images

    Logo