दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच फेरि तनाव भएको छ । चिनियाँ र फिलिपिनी जहाज एक आपसमा ठोक्किएपछि सो क्षेत्रमा तनाव बल्झिएको हो । फिलिपिन्सले चिनियाँ तटरक्षक जहाजले आफ्नो एउटा आपूर्ति डुङ्गालाई ‘जानीजानी’ ठोकेको आरोप लगाएको छ।
यो घटना दक्षिण चीन सागरको दोस्रो थोमस शोलमा भएको हो, जसलाई लिएर विवाद भइरहेको छ । फिलिपिन्सले यो ठाउँलाई आयुंगिन शोल भन्छ। यस घटनाको भिडियो पनि सार्वजनिक भएको छ, जसमा फिलिपिन्स र चीनका जहाजहरूबीचको टक्कर देख्न सकिन्छ ।
मिडियासँग कुरा गर्दै, फिलिपिन्सका रक्षा सचिव गिल्बर्टो टियोडोरोले चिनियाँ कोस्ट गार्ड र समुद्री मिलिशिया जहाजले जानाजानी हाम्रो आपूर्ति डुङ्गा र तटरक्षक जहाजलाई ठक्कर दिएको आरोप लगाएको छ । यो अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको फिलिपिन्सको दाबी छ ।
फिलिपिन्स सरकारले चिनियाँ राजदूत ह्वाङ जिलियनलाई बोलाएर चिनियाँ सरकारको लापरवाह र गैरकानूनी कार्यको निन्दा गरेको उनले बताए।
फिलिपिन्स कोस्ट गार्डका कमोडोर जे तारिएलाका अनुसार करिब ५ चिनियाँ तटरक्षक जहाज, ८ वटा जहाज र २ वटा नौसेनाका जहाजले फिलिपिन्सका दुई तटरक्षक जहाज र दुईवटा आपूर्ति डुङ्गा रोकेका थिए ।



