images
images

पर्यटक धान्ने क्षमता ३५ लाख, लक्ष्य भने १० लाख


  • 499
    SHARES
  • २०८० आश्विन २८ गते आइतबार

    पर्यटक धान्ने क्षमता ३५ लाख, लक्ष्य भने १० लाख

    काठमाडौं । मुलुकमा वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने पूर्वाधार रहे पनि सरकारले क्षमताको एक तिहाइ कम पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सरकारले सन् २०२३ मा १० लाख मात्र पर्यटक भित्राउने लक्ष्य राखेकाले होटल व्यवसायीहरू उत्साहित हुन नसकेको बताइरहेका छन् ।

    ‘हामी ३५ लाख पर्यटकलाई सेवा दिन तयार छौं तर सरकार १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको भन्दै रमाएर बसेको छ ।’ होटल एसोसियसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले भने, ‘मुलुकमा पर्यटकलाई सेवा दिन सक्ने क्षमता बढेर कहाँ पुगिसक्यो सरकार भने कोभिड महामारीअघिको पूर्वाधारमा आधारित भई तय गरिएको लक्ष्य बोकेर बसेको छ।’ उनले थपे, ‘यसरी हाम्रो व्यवसाय कसरी चल्छ ?’

    अध्यक्ष शाहले यो महिना यति पर्यटक आए, कोभिडअघिको जति पुग्न लाग्यो भनेर खुसी भएर बस्ने समय नभएको बताए । उनले अहिले होटल व्यवसायीहरूले वार्षिक ३५ लाख पर्यटकलाई उनीहरूले भनेजस्तै उत्कृष्ट सेवा, सुविधा दिन सक्ने क्षमता वृद्धि गरिसक्दा पनि सरकारले पर्यटनक्षेत्रको आधारभूत अध्ययन गरी त्यसअनुरूपको नीति तथा कार्ययोजना बनाउन नसकेको आरोप लगाए । यसको मतलब महामारीको समयमा सबै विकासका काम, कार्यक्रमहरू ठप्प हुँदा पनि पर्यटनसँग सम्बन्धित पूर्वाधारहरू धमाधम निमार्ण भइरहेका थिए भन्ने हो । छिमेकी मुलुक भारत र चीनबाट अरू मुलुकमा जाने पर्यटकको दुई प्रतिशत मात्र नेपाल भित्र्याउन सकेको भए पर्यटन व्यवसाय धरापमा पर्ने थिएन, अध्यक्ष शाहको तर्क छ । सरकारले कोभिडपछि पर्यटन क्षेत्रको अध्ययन नगरी नीति, योजना तथा कार्यक्रमहरू घोषणा गर्ने हतार गर्दा पर्यटन क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको उनले बताए ।

    सरकारले सन् २०२३ देखि २०३३ सम्म पर्यटन दशक घोषणा गरेको छ। त्यसको नौ महिनाभन्दा बढी बितिसक्दा पनि ठोस कार्यक्रम सार्वजनिक नगरेको हुँदा पर्यटन क्षेत्रमा अपेक्षित सुधार नआएको व्यवसायीहरूको बुझाइ छ  । 


    images
    images

    Logo