images
images

दुई महिनामा उनन्चालिस अर्बको इन्धन आयात


  • 538
    SHARES
  • २०८० आश्विन २५ गते बिहीबार

    दुई महिनामा उनन्चालिस अर्बको इन्धन आयात

    काठमाडौं ।  दुई महिनाको अवधिमा चार लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुुई महिना (साउन, भदौ) मा इन्धन (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन, ग्यास)को आयात १९ प्रतिशतले बढेर ३९ अर्ब १२ करोड रुपियाँ बराबरको ४ लाख १ सय ९० किलोलिटर इन्धन आयात भएको हो । 

    अघिल्लो वर्ष सो अवधिमा ३ लाख ८९ हजार ८ सय २० किलोलिटर इन्धन आयात भएको थियो । बजारमा इन्धनको खपत बढेसँगै आयातमा वृद्धि भएको हो । नेपाल आयल निगमको तथ्याङ्क अनुसार दुई महिनाको अवधिमा सबैभन्दा धेरै डिजेल १ लाख ७० हजार १ सय ११ किलोलिटर आयात भएको छ । 

    यस्तै पेट्रोल १ लाख १३ हजार ३ सय ४, हवाई इन्धन २६ हजार ८ सय ८४ किलोलिटर आयात भएको छ । यस्तै मटितेल १ हजार ६ सय २० किलोलिटर र खाना पकाउने एलपी ग्यास ८८ हजार २ सय ७१ मेट्रिक टन आयात भएको छ । गत वर्षको तुलनामा डिजेल, पेट्रोलको आयात सामान्य बढे पनि हवाई इन्धन र ग्यासको आयात उच्च छ । 

    गत वर्षको तुुलनामा हवाई इन्धन चार हजार किलोलिटर र ग्यास पाँच हजार मेट्रिक टन बढी आयात भएको छ । गत वर्षको तुलनामा आयात बढेसँगै इन्धनको खपतसमेत वृद्धि भएको छ । 

    हाल मासिक बजारमा ५१ हजार १ सय ४६ किलोलिटर पेट्रोल, १ लाख २ हजार २०७ किलोलिटर डिजेल, हवाई इन्धन १५ हजार ६४ किलोलिटर, मटितेल ८९९ किलोलिटर र ग्यास ४२ हजार १०५ मेट्रिक टन खपत हुने गरेको छ । दसैँमा बजारमा डिजेल खपत बढ्ने गरेको छ । 

    उपत्यकाबाट ठुलो सङ्ख्यामा सवारीसाधन बाहिर जाने भएकाले पनि डिजेलको खपत अन्य समयको तुलनामा बढी हुने गर्छ । दसैँ मान्न यात्रु उपत्यकाबाहिर जाने हुँदा सवारीसाधन धेरै सङ्ख्यामा चल्ने गर्छन् । जसको कारणले गर्दा पनि डिजेल खपत बढी हुने गर्छ । 

    घटस्थापनाको दिनदेखि स्कुल, कलेज बिदा हुने हुँदा यात्रुहरू बाहिरिन सुरु हुन्छ । सप्तमीको दिनदेखि दसैँ बिदा हुँदा उपत्यकाबाट बाहिर जाने सार्वजनिक यातायातको चहलपहल बढी हुने गर्छ ।


    images
    images

    Logo