images
images

हुलाक टिकट नेपालमै छापिने, 'विदेशमा छाप्न भन्दा सस्तो पर्छ'


  • 456
    SHARES
  • २०८० आश्विन २२ गते सोमबार

    हुलाक टिकट नेपालमै छापिने, 'विदेशमा छाप्न भन्दा सस्तो पर्छ'

    काठमाडौं । हुलाक टिकट अब नेपालमै छापिने भएको छ । हुलाक टिकट छाप्न हुलाक सेवा विभाग र भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रबिच सहमति भएको हो ।

    विभागका महानिर्देशक प्रदीपराज अधिकारीले टिकट छाप्न विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न खोजिएको बताउँदै भने, “सुरक्षासाथ नेपालमै छाप्न सक्ने प्रकाशनगृहको खोजी हुँदा जनक शिक्षा उपयुक्त देखियो । मतपत्र, राजस्वका स्टिकरलगायत त्यहीँ छापिने रहेछन् । निजी छापाखानाले सुरक्षाका साथ छाप्न सक्ने देखिएन । सरकारी निकाय पनि भएकाले जनक शिक्षालाई यसको जिम्मेवारी दिने सहमति ग¥यौँ । स्वदेशी संस्थालाई प्रवर्धन गर्नु पर्छ । यतिका लागि विदेश जानुपर्ने आवश्यकता छैन ।”

    टिकटको प्रचलन थाल्दा नेपालमै टिकट छापिने गरेको विभागका पदाधिकारीहरू बताउँछन् । प्रविधि परिवर्तन हुँदै गएपछि छपाइका लागि विदेश पठाउन थालियो । टेन्डर प्रक्रिया अनुसार छाप्दा भारत, इन्डोनेसिया, बेलायतलगायतका मुलुकमा छपाइ हुन्थ्यो । यसरी छाप्दा विभागका पदाधिकारी हरेक वर्ष दुई तीन पटक ती मुलुकमा निरीक्षणमा जाने गरेका थिए । उनले भने, “स्वदेशमै हुलाक टिकट छाप्न थालियो भने निरीक्षणका लागि विदेश जानु पनि परेन । त्यसो हुँदा राज्यको रकम बचत पनि हुने छ ।”

    विदेशमा छपाइ हुँदा प्रति टिकट सरदर एक रुपैयाँ खर्च हुन्थ्यो । जनक शिक्षाले प्रति टिकट ९५ पैसामा छपाइ गरिदिने प्रस्ताव दिएको छ । विभागसँग स्टक सकिने अवस्थामा रहेको १० रुपैयाँ दरको हुलाक टिकट पहिले छपाइ गरिने छ । विभागले एक रुपैयाँ र पाँच रुपैयाँ दरका पनि हुलाक टिकट छाप्ने गरेको छ । सुरुमा के कति परिमाणमा हुलाक टिकट छपाइको जिम्मा दिने भन्नेबारे टुङ्गो लागिसकेको छैन ।

    जनक शिक्षाले आफ्नो परिसरमा रहेको सेक्युरिटी प्रेसमा हुलाक टिकट छपाइ गर्ने भएको छ । छपाइका व्रmममा सुरक्षार्थ नेपाली सेनालाई परिचालन गरिने छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को प्रश्नपत्र, मतपत्रलगायत छाप्दा नेपाली सेनाका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि सुरक्षार्थ खटाउने गरिएको छ ।

    जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले हुलाक टिकट छपाइका लागि कार्यादेश पाउन बाँकी रहेको बताउँदै भनेभयो, “पहिलो पटक हुलाक टिकट छाप्ने जिम्मेवारी पाउँदै छौँ । यो छाप्न जटिल भए पनि सक्छौँ ।” यसका लागि आवश्यक पर्ने गमसहितको कागज विदेशबाट नै आयात गर्नुपर्ने हुन्छ । टिकटमा ससाना प्वाल पार्न विशेष खालको मेसिन आवश्यक पर्ने भएकाले त्यस्तो मेसिन पनि विदेशबाट झिकाउनुपर्ने हुन्छ ।

    जनक शिक्षासँग सेक्युरिटी प्रेसमा दुई वटा अत्याधुनिक जापानी प्रविधिको छपाइ मेसिन छ । चार रङको छपाइ गर्ने सो मेसिनको प्रयोग गरी विगत चार वर्षदेखि अन्तःशुल्कको स्टिकर छाप्ने गरिएको छ ।


    images
    images

    Logo