भारतले हाइड्रोजनबाट चल्ने दुईवटा फ्युल सेल बस बनाएको छ । जैविक इन्धनलाई ग्रीन (हरित) हाइड्रोजनले प्रतिस्थापन गर्ने उद्देश्यका साथ भारतले उक्त बसको निर्माण गरेको हो ।
भारतका केन्द्रीय मन्त्री हरदीप सिंह पुरीले आज अर्थात सेप्टेम्बर २५ मा दिल्लीमा भारतको पहिलो हरित हाइड्रोजन फ्युल सेल बसलाई परीक्षण यात्राका लागि हरियो झण्डा देखाए । ती बसले ३ लाख किलोमिटरभन्दा बढीको दुरी तय गर्ने जनाइएको छ ।
भारतको पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्रालयले उक्त परीक्षणबाट आएको परिणाम र निष्कर्षको सहयोगले भारतको हरित हाइड्रोजन आधारित ‘शून्य कार्बन उत्सर्जन’ अभियानमा मद्दत गर्ने जनाएको छ । उक्त प्रविधिको प्रयोगले पेट्रोलियम रिफाइनिङ, मल उत्पादन र स्टील निर्माणमा जैविक इन्धनलाई प्रतिस्थापन गर्न सक्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ ।
नवीकरणीय ऊर्जा स्रोतको प्रयोगले आत्मनिर्भर आर्थिक मार्गको मार्ग तय गर्ने मन्त्रालयले बताएको छ । हरित हाइड्रोजनले न्यून कार्बन र आत्मनिर्भर आर्थिक मार्गमा महत्वपूर्ण भूमिका खेल्ने क्षमता समेत राखेको मन्त्रालयले जनाएको छ । घरेलु देखि लिएर ठूलाठूला उद्योगहरुमा समेत हरित हाइड्रोजनको प्रयोगलाई विस्तार गर्ने सकिने मन्त्रालयको योजना छ ।
हाइड्रोजनलाई इन्धनको रुपमा प्रयोग गर्ने भारतको पहिलो बस चलाउनका लागि ३५० बारको चापमा हाइड्रोजन फ्युल सेल भण्डारण गरिएको थियो ।
यसैबीच इन्डियन आयल कर्पोरेसनले दिल्ली, हरियाणा र उत्तर प्रदेशका रुटहरूमा १५ वटा हाइड्रोजन बसको समेत वैज्ञानिक परीक्षणको कार्य सुरु गरेको छ । यसका लागि उसले हरियाणास्थित फरीदाबादमा अनुसन्धान र विकासको पूर्वाधार बनाएको छ । यसमा सौर्य पीभी प्यानलहरू प्रयोग गरेर इलेक्ट्रोलाइसिस मार्फत उत्पादन गरिएको हरित हाइड्रोजन इन्धन सेलमा भर्न सकिने व्यवस्था गरिएको छ ।
के हो हरित हाइड्रोजन ?
हरित हाइड्रोजन ऊर्जाको सबैभन्दा स्वच्छ स्रोत हो । यसले प्रदूषण गर्दैन । हरित हाइड्रोजन बनाउनका लागि पानीबाट हाइड्रोजन र अक्सिजन अलग गरिन्छ । उक्त प्रक्रियामा इलेक्ट्रोलाइजर प्रयोग गरिन्छ । इलेक्ट्रोलाइजरले नवीकरणीय ऊर्जा (शौर्य शक्ति र हावा) प्रयोग गर्दछ।
हरित हाइड्रोजन ढुवानी, रसायन, फलाम आदि धेरै ठाउँमा प्रयोग गर्न सकिन्छ ।



