काठमाडौं । नेपालजस्तै अमेरिकी अर्थतन्त्रमा पनि ऋण संकटको गहिरो प्रभाव पर्ने डर बढेको छ । अमेरिकाको कुल ऋण ३३ ट्रिलियन डलर नाघेको छ । यो त्रैमासमा १ ट्रिलियन डलर भन्दा बढि बढेको छ । जसका कारण सरकार ठप्प हुने अवस्था आउन सक्ने डर छ ।
यसो भएमा सरकारले आफ्ना कर्मचारीको तलब भुक्तानीमा संकट भोग्नुपर्नेछ । बैंकिङ संकट र अन्य चुनौतिको चक्रव्यूहमा फसेको अमेरिकी अर्थतन्त्रलाई यसका कारण अर्को झट्का लाग्न सक्ने सम्भावना छ ।
संकटमा अमेरिकी अर्थतन्त्र
अमेरिकामा इन्धनको मूल्य निकै उच्च छ । त्यहाँको अटो उद्योगका कर्मचारीहरू हडतालमा छन् र आम अमेरिकी नागरिकहरु उच्च मुद्रास्फीतिबाट हैरान छन् । अमेरिकी अर्थतन्त्रले भर्खरै मात्र मन्दीबाट रिकभरको बाटोमा गएको छ । तर अमेरिकी अर्थतन्त्रमा आएको उक्त ऋण संकटले रिकभरीको बाटो लामो बनाउन सक्छ ।
त्यति मात्र नभइ, अहिले सामान्य मन्दीको मात्र सामना गरिरहेको अमेरिका उक्त ऋण संकटका कारण ठूलो संकटमा फस्न सक्छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र यदि मन्दीको जालमा फस्यो भने यसले विश्वकै अर्थतन्त्रमा नराम्रो असर पार्न सक्छ ।
ऋण संकटका कारण टाट पल्टने खतराले घटायो अमेरिकाको रेटिङ
अमेरिकाको यो ऋण संकटले यस वर्षको मध्यमा देशलाई टाट पल्टाउने स्थितिमा पुर्याएको थियो । त्यसपछि सरकारले पूर्वनिर्धारित सीमा बढाएर यो समस्याबाट जोगाएको थियो । तर यो बढ्दो ऋणलाई ध्यानमा राख्दै रेटिङ एजेन्सीहरूले अमेरिकाको रेटिङलाई लिएर बहस गर्न थालेका छन् । ग्लोबल रेटिङ एजेन्सी फिचले अगस्टमा अमेरिकाको रेटिङ ‘एएए’ बाट घटाएर ‘एए प्लस’ दिएको थियो । देशको बढ्दो ऋणका कारण एजेन्सीले यस्तो गरेको हो ।
अमेरिकाको सकल राष्ट्रिय ऋण निकै तीव्र गतिमा बढिरहेको छ । पछिल्लो तीन महिनामा मात्रै यो एक खर्ब डलरले बढेको छ । बजेट घाटा १.५ ट्रिलियन डलर पुगेको छ, जुन गत वर्षको तुलनामा ६१ प्रतिशतले बढी हो ।
मुद्रास्फीति नियन्त्रण गर्न फेडरल रिजर्भले जसरी लगातार ब्याजदर बढाउँदा सरकारलाई ऋण तिर्न निकै महँगो भएको छ । यति मात्रै होइन, ऋण तिर्नको लागि सरकारले कुनै ठोस योजना नदेखेकाले अवस्था निरन्तर बिग्रँदै गएको छ ।



