काठमाडौं । बजारमा यसवर्ष किसानलाई मल अभाव भएको छ । मल आयातको जिम्मेवारी पाएका साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री लिमिटेडले समयमै आयात गर्न नसक्दा मल अभाव भएको हो । दुवै कम्पनीले चालु आर्थिक बर्षमा युरिया २ लाख ५१ हजार मेट्रिक टन र डिएपी १ लाख मेट्रिक टन आयात गरिसकेको छ । तर पोटास मल भने हालसम्म आयात गर्न सकेको छैन ।
चालु आर्थिक बर्षका लागि ४ लाख ७८ हजार ५ सय मेट्रिक टन मल आयात गर्न बोलपत्र आह्वान गरेकामा चाँडै नै १ लाख २७ हजार ५ सय मेट्रिक टन मल आउने क्रममा रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकृत दीपक पौडेलले जानकारी दिए। उनका अनुसार युरिया ५० हजार मेट्रिक टन , डिएपी ७० हजार मेट्रिक टन र पोटास ७ हजार ५ सय मेट्रिक टन मल आयात गर्ने क्रममा छ ।
सातै प्रदेशका डिपोमा हाल ७८ हजार ४ सय ७५ मेट्रिक टन मल मौज्दात छ । बजारमा वार्षिक करिब ७ लाख मेट्रिक टन मलको माग छ । मुख्य बालीका रुपमा रहेको धान रोपाइँको समयमा मल अभाव भएको किसानको गुनासो छ ।
स्थानीय तहको समन्वयमा क्षेत्रफलको आधारमा वैज्ञानिक प्रणालीबाट मल न्यायोचितरुपमा वितरण गरिएको मन्त्रालयले जनाएको छ । किसानलाई सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले आयात गर्ने मलमा अनुदानको व्यवस्था गरिएको छ । चालु आर्थिक बर्षमा मल आयातका लागि ३१ अर्ब रुपैयाँ रकमको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।



