काठमाडौं । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८७/८८ सम्ममा साढे २ लाखभन्दा बढी स्वास्थ्य जनशक्ति आवश्यक हुने प्रक्षेपण गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ लाई आधार मानी गरेको अध्ययनमा उक्त प्रक्षेपण गरेको हो ।
आयोगका अनुसार सो अवधिभित्र सरकारी र निजी स्वास्थ्य संस्थामा महिला स्वास्थ्य स्वयम्सेविका र कार्यालय सहयोगीसहित ३ लाख ५८ हजार ९ सय ३८ स्वास्थ्य जनशक्ति आवश्यक पर्नेछ । आयोगले सो अवधिसम्म चिकित्सक र स्वास्थ्यकर्मी मात्रै २ लाख ५७ हजार ९१ आवश्यक हुने निष्कर्ष निकालेको छ ।
आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीले हाल कार्यरत जनशक्ति सेवानिवृत्त हुने र विदेशिने सङ्ख्यालाई समेतका आधारमा जनशक्ति प्रक्षेपण गरिएको जानकारी दिए । “सरकारले निर्माण गरिरहेका आधारभूत स्वास्थ्य संस्थालाई समेत आधार मानी स्वास्थ्य जनशक्ति प्रक्षेपण गरिएको छ”, उनले भने ।
उनका अनुसार २०८८ सालसम्म स्वास्थ्य जनशक्तिको सङ्ख्या ३ दशमलव ६ प्रतिशतले प्रक्षेपण गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रति एक हजारमा न्यूनतम ४ दशमलव ४५ स्वास्थ्य जनशक्ति हुनु राम्रो मानिन्छ ।
आर्थिक वर्ष २०७७/७८ मा स्वास्थ्य संस्थामा २ लाख ३४ हजार ३ सय ६१ जनशक्ति आवश्यक रहेकोमा ५६ हजार ५२ जना कम अर्थात १ लाख ७८ हजार ३ सय ९ मात्रै कार्यरत थिए । प्रतिवेदनमा आर्थिक बर्ष २०७७/७८ सम्ममा सञ्चालित स्वास्थ्य संस्था, सरकारी, निजी तथा गैरसरकारी अस्पताल, मेडिकल कलेज, नर्सिड होम, क्लिनिक तथा शय्या सङ्ख्या प्रदान गरिने सेवाका लागि आवश्यक जनशक्तिको आँकलन गरिएको आयोगको भनाइ छ ।
२०८८ सालसम्म एमबिबिएस १६ हजार सात सय ८४, विशेषज्ञ चिकित्सक कल्यन्ट्यान्ट (स्नातकोत्तर) १५ हजार ४ सय ३५, नर्सिङ पेसाविद (स्नातकोत्तर) ४ सय ११ आवश्यक हुने आयोगको प्रक्षेपण छ ।
नर्सिङ सहायक (स्नातक) ३ हजार ३ सय ५९, नसिङ तथा प्रसूतिसम्बन्धी सहायक (प्रमाणपत्र तह) ८८ हजार २४, परम्परागत तथा वैकल्पिक चिकित्सा (स्नातक तथा स्नातकोत्तर तह) २ हजार ८३, परम्परागत तथा सहायक चिकित्सक प्राविधिक (प्रमाणपत्र तह) ३ हजार १ सय १८ जनशक्ति आवश्यक पर्नेछ ।
सो अवधिसम्म अन्य स्वास्थ्य सम्बद्ध पेसा (स्नातकोत्तर तह) २ हजार ६ सय ८८, अन्य स्वास्थ्य सम्बद्ध सहायक पेसा (स्नातक तह) २३ हजार १ सय ५०, अन्य स्वास्थ्य सम्बद्ध सहायक पेसा (प्रमाणपत्र तह) १ लाख ४ हजार ३९ हजार उत्पादन हुनुपर्नेछ ।
त्यसैगरी सामुदायिक महिला स्वास्थ्य स्वयसेविका ५७ हजार ४३ जना र श्रेणीविहीन कार्यालय सहयोगी, सरसफाइ तथा सवारी चालक ४४ हजार ८ सय ४ जना स्वास्थ्य जनशक्ति आवश्यक हुने आयोगको भनाइ छ । आयोगले २०८३ सालमा २ लाख ४५ हजार ४ सय ६३ स्वास्थ्य जनशक्ति र ५४ हजार ४ सय ६३ महिला स्वास्थ्य स्वयसेविका र ४२ हजार ७ सय ७७ श्रेणीविहीन कार्यालय सहयोगी, सरसफाइ कर्मचारी र सवारी चालक आवश्यक हुने प्रतिवेदनमा उल्लेख गरेको छ ।
यसवर्ष चिकित्सकतर्फ स्नातक तहमा सात हजार छ सय ५९, स्नातकोत्तर तहमा १ हजार ६ सय ८४ र स्नातकोत्तरभन्दामाथि १ सय ९ जनशक्ति उत्पादन हुने आयोगको भनाइ छ । यस्तै नर्सिङ, जनरल मेडिसिन, डेन्टल साइन्स, आयुर्वेशिक हेल्थ साइन्स, फिजियोथेरापी, फार्मसीलगायत ११ मध्यम तथा आधारभूत तहका विषयमा १२ हजार १ सय २ स्वास्थ्यकर्मी उत्पादन हुनेछन् ।
नेपालमा सरकारले स्थानीय तहमा बनाउन थालेका आधारभूत अस्पतालसहित ७ हजार ८ सय ८९ सरकारी र निजी २ हजार २ सय ५० गरी १० हजार १ सय ३९ स्वास्थ्य संस्था सञ्चालनमा छन् ।



