काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको गुनासो सुनुवाइका लागि सुनुवाइ डेस्क स्थापना गरेको छ । राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले लघुवित्तहरुको गुनासो सम्बोधन गर्नका लागि उक्त डेस्क स्थापना गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थाहरूसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरूको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्कको स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यस गुनासो सुनुवाइ डेस्कमा आफ्नो गुनासो पैसा तिर्नुनपर्ने (टोल फ्रि) फोन नम्बर १८१०५००००२२ मार्फत वा बैंकको अनलाइन गुनासो पोर्टल gunaso.nrb.org.np बाट वा इमेल gunaso@nrb.org.np मार्फत वा कार्यालय समयमा नेपाल राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएकाे छ ।




