काठमाडौं । बढ्दो तापक्रमका कारण भारत, नेपाल र पाकिस्तानमा घरेलु हिंसा बढेको एक अध्ययनमा देखाइएको छ । जामा मनोचिकित्साले प्रकाशित गरेको एक अध्ययनले वार्षिक औषत तापक्रममा १ डिग्री सेल्सियसको वृद्धिले दक्षिण एशियाका तीन देशहरुमा शारीरिक र यौनजन्य घरेलु हिंसामा ६.३ प्रतिशतभन्दा धेरैले वृद्धि भएको देखाएको हो ।
अध्ययनले २०१० र २०१८ को बीचमा भारत, नेपाल र पाकिस्तानका १५–४९ वर्षका १ लाख ९४ हजार ८७१ महिलाहरुको शारीरिक र यौन दुव्र्यवहारको अनुभवसम्बन्धी सर्वेक्षण गरेको थियो । सर्वेक्षण गरिएकामध्ये २३ प्रतिशतले शारीरिक हिंसा, १२.५ प्रतिशतले भावनात्मक र ९.५ प्रतिशतले यौन हिंसाको अनुभव गर्नुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अध्ययनले उनीहरुका हिंसाका अनुभवलाई सोही अवधिमा भएको तापक्रमको उतारचढावसँग तुलना गरेको थियो । १ डिग्री सेल्सियसले तापक्रम बढ्दा ४.४९ प्रतिशतले हिंसा बढ्ने अध्ययनमा देखाइएको छ । १ डिग्री सेल्सियसले तापक्रममा वृद्धि हुँदा भारतमा शारीरिक हिंसा ७ प्रतिशत र यौन हिंसा ७.३ प्रतिशतले वृद्धि भएको अध्ययनमा देखिएको छ ।
२१ औं शताब्दीको अन्त्यसम्ममा विवाहित महिलाहरुविरुद्धको हिंसा २१ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । त्यसमध्ये, २८.३ प्रतिशतले शारीरिक हिंसा, २६.१ प्रतिशतले यौन हिंसा र ८.९ प्रतिशतले भावनात्मक हिंसाको सामना गर्नुपर्ने स्थिति आउनसक्ने अनुमान गरिएको छ ।
सन् २०९० सम्ममा पुग्दा घरेलु हिंसा नेपालमा १४.८ प्रतिशत, पाकिस्तानमा ५.९ प्रतिशत र भारतमा सबैभन्दा बढी २३.५ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।



