काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात पहिराका कारण अवरुद्ध भएको छ ।
जिल्लाको दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्गे्र र पोखरी खण्डमा खसेको पहिराको कारण यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले बताए । पानी परिरहेकाले यस खण्डमा तत्काल पहिरो पन्छाएर बाटो खुलाउन समस्या भएको उनले बताए ।
नवलपुरको पहाडी क्षेत्रलाई जोड्ने मुख्य खण्ड पहिराले अवरुद्ध भएपछि दललदलेबाट पहाडी क्षेत्रमा छुट्ने र पहाडी क्षेत्रबाट दलदलेतर्फ छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् । पहिराले बाटो अवरुद्ध हुँदा मुख्य राजमार्ग र सदरमुकामसँग पहाडी क्षेत्रको यातायात सम्पर्क टुटेको छ ।
यसैगरी कालिगण्डकी करिडोरको नवलपुरखण्डसमेत पहिराको कारण अवरुद्ध भएको छ । कालिगण्डकी करिडोरअन्तर्गत बुलिङटार १ र ६ मा पहिरो खसेकाले करिडोर पूर्णरुपमा बन्द भएको प्रमुख पौडेलले बताए । जिल्लाको मुख्य राजमार्ग पूर्व पश्चिम राजमार्गमा भने यातायात सञ्चालनमा कुनै समस्या नरहेको उनले बताए ।
पहिराले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध
अविरल वर्षाका कारण गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएको छ । सन्धिखर्क–६ नरपानीको बहखोरामा गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।
गोरुसिङ्गे सन्धिखर्क सडकको सन्धिखर्क–६ नरपानीकै दहखोला र शीतगङ्गा १३ कोन्द्रेखोलामा खसेको पहिरो हटाइ सकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी प्रमुख प्रनाउ रिजालले जानकारी दिए। सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रु बीचमै रोकिएका छन् ।



