images
images

‘भक्तपुर नगरपालिकाले सय वर्षपछिको आधार निर्माण गर्दैछ’


  • 274
    SHARES
  • २०८० आषाढ १५ गते शुक्रबार

    ‘भक्तपुर नगरपालिकाले सय वर्षपछिको आधार निर्माण गर्दैछ’

    ललितपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सय वर्ष पछिको भक्तपुरको दीर्घकालीन योजनाको आधार तयार गर्न भक्तपुर नगरपालिकाले पुरानो नगर भित्र घर निर्माण गर्ने घरधनीलाई ईटा, झिँगटी र काठको लागि अनुदान, शैक्षिक संस्थाहरु सञ्चालन, युवाहरुलाई विभिन्न विदेशी भाषाको तालिम सञ्चालन र सांस्कृतिक प्रशिक्षण दिनेलगायतका कार्य चालू रहेको बताए ।

    ललितपुर महानगरपालिका र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सहकार्यमा भएको ललितपुर महानपाका सातौं, आठौं र नवौं तहका अधिकृतस्तरका कर्मचारीहरूको ‘प्रभावकारी सेवा प्रवाहका लागि स्थानीय शासन र सहरी व्यवस्थापन’ विषयक ३० दिने सेवाकालीन प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले विकेन्द्रीकरण र स्वायत्तताको पूर्ण कार्यान्वयन भएमा नेपालमा संघीयता आवश्यक नभएको विचार व्यवहारले पुष्टि भएको बताउँदै संघ र प्रदेशबाट नियन्त्रित संघीयताको अभ्यास गर्न खोज्नु उचित होइन भने ।

    भक्तपुर नगरपालिकाको  संक्षिप्त परिचयसहितको प्रस्तुतीकरण देखाउँदै प्रमुख प्रजापतिले स्थानीय तह स्रोत र साधनको अधिकत्तम प्रयोग हुने ठाउँ भएको बताउँदै देशका ७५३ वटै स्थानीय तहमा एउटै कानुन र ऐन– नियम भए पनि काम गर्ने शैली र समस्याहरू पालिकापिच्छे फरक फरक हुने बताए ।
     
    संविधान र कानुनले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही भक्तपुर नगरपालिकाले आवश्यक नीति निर्माण गरी त्यसको कार्यान्वयनमा जोड दिँदै व्यापक जनताको हितमा शिक्षा र स्वास्थ्य क्षेत्रमा न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्दै समाजवादउन्मुख काम गर्दै आएको बताए ।

    ख्वप विश्वविद्यालय सम्बन्धनको विषयमा शासक दलहरूले भक्तपुरलाई पक्षपात र पूर्वाग्राही सोचले हेरिरहेको बताउँदै उनले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरू आफैमा विश्वविद्यालयको रुपमा सञ्चालनमा रहेको बताए ।

    भक्तपुरको शिक्षा विकासमा नेमकिपाले खेलेको भूमिकामाथि प्रष्ट पार्दै उनले संविधानको भावनाअनुसार प्रत्येक नागरिकलाई शारीरिक व्यायामको अधिकार प्रदान गर्ने उद्देश्यले टोल टोलमा खुल्ला व्यायामशाला स्थापनाका साथै हरेक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिता र अन्तरविद्यालय खेलकुद प्रतियोगितालगायतको आयोजनालाई निरन्तरता दिँदै आएको बताए ।

    समापन कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भक्तपुर नगरपालिकाको सिकाइ देशकै लागि उल्लेखनीय भएको बताउँदै कर्मचारीहरूको सेवा प्रवाहलाई अझ चुस्त दुरुस्त ढंगले अगाडि बढाउन ललितपुर महानपाले छुट्टै बजेट व्यवस्था गरी ३० दिने सेवाकालीन तालिमको आयोजना गरेको र तालिमबाट प्राप्त ज्ञान र सीप कार्यालय क्षेत्रमा प्रभावकारी ढंगले कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

    स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरीले नागरिकलाई प्रदान गरिने सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले कर्मचारीहरूमा रहेको ज्ञान, सीप र क्षमतालाई समयसापेक्ष रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले सेवाकालीन तालिमको अहम् भूमिका रहेको बताउँदै कर्मचारीहरूले आफ्नो ज्ञान र सीपको माध्यमबाट सिंगो नगर र देश विकासमा सहयोगी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए ।

    प्रतिष्ठानका उपनिर्देशक कृष्णप्रसाद भट्टराईले भक्तपुर नगरपालिकाका असल अभ्यासबाट प्रशिक्षित हुने अवसरको लागि धन्यवादज्ञापन गर्दै तालिम निकै प्रभावकारी भएको बताउँदै  तालिमले प्रशिक्षार्थीहरूलाई समय व्यवस्थापनका साथै अनुशासन र आचरणका व्यवहार पनि सिकाउने विचार राखे ।

    तालिमका सहभागी कर्मचारीहरूले नगर प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर नगरपालिकाको सुशासन, असल अभ्यास, सेवा प्रवाह, कार्यशैली, विकासको मोडल, घरदैलो नर्सिङ सेवा र नगरपालिकाका चुनौती आदिबारे जिज्ञासा आफ्ना राखेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापति र अतिथिहरुले तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।


    images
    images

    Logo