images
images

द्विपक्षीय सम्बन्ध विस्तारका लागि आपसी चासोलाई ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ


  • 280
    SHARES
  • २०८० आषाढ १५ गते शुक्रबार

    द्विपक्षीय सम्बन्ध विस्तारका लागि आपसी चासोलाई ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौं ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ तुल्याउनका लागि द्विपक्षीय चासोका विषयलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनले बृहत् विकास साझेदारी, सम्पर्क सञ्जाल, वाणिज्य तथा लगानी, संस्कृतिक आदानप्रदान, समुदायस्तरको सहकार्य र अन्य द्विपक्षीय विषयलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।

    नेपाल–चीन सम्बन्धका विषयमा सिचुवान विश्वविद्यालयले आज आयोजना गरेको कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उनले आगामी दिनमा दुई देशबीचको सम्बन्धमा रचनात्मकता, नीतिगत विश्वसनीयता, प्रतिबद्धतासहितको दृष्टिकोणले मात्र परिणाममुखी सम्बन्ध स्थापित गर्न सकिने बताए। 

    उपप्रधानमन्त्री श्रेष्ठले भने, “दुई देशको सम्बन्ध ऐतिहासिक र सभ्यतासँगै साथै हाम्रा नेतृत्वको दूरदर्शी दृष्टिकोणले समृद्ध रहँदै आएको छ, यसलाई थप सबल तुल्याउनका लागि गर्नसक्ने धेरै क्षेत्र छन्, तीमध्ये बृहत् विकास साझेदारी, सम्पर्क सञ्जाल बिस्तार, वाणिज्य तथा लगानी, संस्कृतिक आदानप्रदान, समुदायस्तरको सहकार्य र अन्य द्विपक्षीय विषयलाई विशेष जोड दिनुपर्छ ।”

    विकास साझेदार मुलुकको सहयोगबिना नेपालमा रहेका विकासका अवरोध हटाउन अप्ठ्यारो हुने बताउँदै उनले त्यसका लागि सहयोग गर्न आग्रह गरे । जलविद्युत्को प्रचुर सम्भावना रहेको नेपालको विद्युत् निर्यात गर्नसक्ने सम्भावना रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, “हामीले चीनलाई जलविद्युत् निर्यात गर्न सक्छौँ । यसका लागि चीनले जलविद्युत् उत्पादनमा सहयोग गर्न सक्छ र सीमापार प्रसारण लाइनजस्ता आवश्यक पूर्वाधार निर्माण गरेर आयात गर्न सक्छ ।”

    नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउनका लागि दुवै देशका विभिन्न क्षेत्रका नागरिकलाई एकअर्काको देश, राजनीति र सामाजिक व्यवस्था, जीवनशैलीबारे राम्ररी सिक्न र जान्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले दुई देशका सामाजिक एवं सांस्कृतिक मूल्यमान्यताको पहिचानका लागि भइरहेका प्रयास सकारात्मक रहेको बताए । उनले भने, “नेपाल र चीनले आफ्ना ऐतिहासिक र सदाबहादर सांस्कृतिक सम्बन्धको आदानप्रदानलाई सदुपयोग गर्नुपर्छ, साझा नदी र पहाडले मात्र नभई दुई देशबीचको सम्बन्ध साझा संस्कृति र नैतिक मूल्यसँग पनि जोडिएको छ ।”

    उपप्रधानमन्त्री श्रेष्ठले दुई देशका जनताले बौद्ध शिक्षा र दर्शनलाई उच्च सम्मान गर्ने भएकाले भगवान बुद्धको जन्मस्थललाई केन्द्रमा राखेर धार्मिक पर्यटनलाई थप प्रवर्द्धन गर्न सकिनेमा विश्वास व्यक्त गरे ।

    विश्वका धेरै देशसँग औपचारिक सम्बन्ध स्थापना नहुँदा पनि नेपालले ल्हासामा वाणिज्य दूतावास खोलेर काम गरेको स्मरण गर्दै उनले नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले भने, “नेपालको कूल व्यापारको १४ प्रतिशत हिस्सा ओगट्ने चीन दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मुलुक हो, यद्यपि अझै धेरै सम्भावना छन्, अझ सहकार्य र साझेदारीका क्षेत्र अपार छन् ।”

    दुई देशबीचको सम्पर्क सञ्चाललाई अझ सबल बनाउनुपर्नेमा जोड दिँदै उहाँले पोखरा र भैरहवामा व्यावसायिक उडान सञ्चालनका लागि चिनियाँ पक्षलाई आग्रह गरे । उपप्रधानमन्त्री श्रेष्ठले भने, “गत साता सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरेकामा हामी खुसी छौँ, छेन्दुबाट पोखराका लागि नियमितरुपमा व्यावसायिक उडान सुरु हुनेमा हामी आशावादी छौँ ।” उहाँले बेइजिङ, छेन्दु र ग्वाञ्जाओबाहेकका अन्य शहरसँग पनि हवाई सेवा सञ्चालन हुनुपर्नेमा जोड दिए ।

    नेपाल र चीनले बेल्ट एण्ड रोड इनिसियटिभ्स (बिआरआई)अन्तर्गत ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटीमा ध्यान दिएको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, “हामीले दुई देशबीचको रेलमार्ग, राजमार्ग, हवाईमार्ग, प्रसारण लाइन, बन्दरगाह र अन्य सबै प्रकारका सम्पर्क सञ्जाललाई ध्यान केन्द्रित छौँ ।”

    दीगो विकासका लक्ष्य भेट्टाउनका लागि नेपाललाई चीनको दरिलो सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले चीनसँग अझ बलियो र व्यापक विकास सझेदारीको आवश्यकता आफूहरुले महसुस गरेको बताए । उपप्रधानमन्त्री श्रेष्ठले भने, “नेपालको समृद्धिमा चीनले सहयोग गर्न सक्छ, छोटो समयमै अभूतपूर्व विकास र समृद्धि हासिल गर्दै गएकाले यस देशले गरिबीको रेखामुनि रहेका नेपालीलाई सहयोग गर्न सक्छ ।”

    नेपालले कृषि, उद्योग, सेवा, पूर्वाधार निर्माणलगायत क्षेत्रमा चीनको अतिरिक्त सहयोगको अपेक्षा गरेको उनको भनाइ छ । 

    नेपाल र चीनबीचको सम्बन्ध विस्तार हुँदै गएको भएपनि सबन्धलाई जीवन्त तुल्याउनका लागि थप तालमेल, परिणाममुखी र व्यावहारिक बनाउनुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, “सहकार्य जति बलियो हुन्छ, समृद्धि त्यति नै गहिरो हुन्छ, दुई देशबीचको साझा भविष्यका लागि चीनसँग मिलेर जान नेपाल तत्पर छ ।” उहाँले विगत वर्षमा दुई देशबाट हुने गरेको उच्चस्तरको भ्रमणबाट सम्बन्धलाई माथि उठाउन र रणनीतिक साझेदारीमा मद्दत पुगेको स्मरण गरे । 

    दुवै देशले शान्तिपूर्ण सहअस्तित्व, पञ्चशीलका सिद्धान्त र एक अर्काको अन्तरिक मामिलामा हस्तक्षेपको नीति अवलम्बन गरेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, “हामी एक अर्काको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राष्ट्रिय स्वतन्त्रताको सम्मान गर्छौं । नेपाल एक चीनप्रति प्रतिबद्ध छ, हाम्रो देशको भूमि छिमेकीविरुद्ध प्रयोग हुननदिने हाम्रो स्पष्ट नीति छ ।”

    छेन्दुमा आमन्त्रण गरेर सिचुवान विश्वविद्यालयले दुई देशबीचको सम्बन्धबारे आफ्ना अनुभव राख्ने अवसर दिएको भन्दै उहाँले चीन सरकार, सिचुवान प्राप्त सरकारका उच्च अधिकारीलाई आभार व्यक्त गरे । 


    images
    images

    Logo