काडमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी बिद्यालयले पनि सरकारी स्कुल सरह शिक्षकहरूलाई तलब भत्ता दिन निर्देशन दिएका छन् । मेयर बालेनले सूचना जारी गर्दै शिक्षा ऐनमा संस्थागत विद्यालयको शिक्षकलाई तोकेको तलब प्रदान गर्न निर्देशन दिएका हुन् ।
संस्थागत बिद्यालयले शिक्षकहरूलाइ कानुन सम्मत तलब नदिएको गुनासो गरे पछि मेयर शाहले सार्बजनिक रूपमा नै शिक्षकहरूको तलब सार्बजनिक गर्दै सोही अनुसार ब्यवस्था गर्नु पर्ने जनाएका छन् ।
साथै मेयर बालेनले तोकिए अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।
‘काठमाडौं महानगरपालिकामा संस्थागत निजि विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ,’ शाहले भनेका छन, ‘यस्तै काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।’




