images
images

मध्यपुर थिमिमा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला हुँदै, १ सय बढीले रोजगार पाउने


  • 254
    SHARES
  • २०८० आषाढ १४ गते बिहीबार

    मध्यपुर थिमिमा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला हुँदै, १ सय बढीले रोजगार पाउने

    भक्तपुर । यही असार १६ गते देिख वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला आयोजना हुने भएको छ । युवाशक्तिलाई स्थानीयस्तरमै रोजगारी प्रदान गरी रोजगारीको खोजीमा विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न प्रयास गर्ने उदेश्यले मध्यपुर थिमि नगरपालिकाले पहिलो पटक यस किसिमको मेलाको आयोजना गरेको हो ।

    साे मेलामार्फत करिव १ सयले रोजगार पाउने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए । मध्यपुर थिमि २ सानोथिमिस्थित आदर्श माविको प्रांगणमा हुने मेलामा विभिन्न व्यवसाय, उद्योग र कम्पनीहरुले मेलास्थलमै रोजगारी उपलव्ध गराउँने प्रतिबद्धता जनाएको प्रमुख श्रेष्ठको भनाई छ । मेला बारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख श्रेष्ठले नीजि विद्यालयको संगठन प्याव्सन भक्तपुरले मात्र मेलामार्फत ४० जना भन्दा बढीलाई रोजगार दिने ग्यारेन्टी गरिसकेको जानकारी दिए ।

    मेलामा रोजगारीको पहिलो प्राथमिकता मध्यपुर थिमिका बासिन्दालाई हुने भएपनि रोजगारीको खोजीमा रहेका योग्यता पुगेका नेपाली नागरिकले अवसर पाउने श्रेष्ठको भनाई थियो । नगरप्रमुख श्रेष्ठका अनुसार, मेलामा रोजगारीका साथै वृत्ति मार्ग निर्देशन सम्बन्धी परामर्श सेवा, विभिन्न तालिम प्रदायक निकायले सिपमूलक र स्वरोजगारमूलक तालिमको जानकारी समेत दिईने छ।

    मेलामार्फत रोजगारको खोजीमा रहेकाहरुलाई रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, निःशुल्क सञ्चालन हुने सीपमूलक तालीम सम्बन्धी जानकारी दिइने र स्थानीय उत्पादनको प्रदर्शनी गरी प्रचार प्रसार गर्ने लक्ष्य लिइएको छ। मेला आयोजक समितिका संयोजक एवम् नगर प्रवक्ता कृष्णहरी आचार्यका अनुसार, युवाहरुलाई आफ्नो करिअर बनाउँन, रोजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति लिन मेला उपयुक्त थलो बन्ने छ ।

    मेलामार्फत रोजगारीको खोजीमा रहेकाहरुलाई प्राविधिक तथा व्यवसायिक सिप, नविनतम प्रविधि, सीप तथा शिक्षण प्रणाली विकासमा नीति तथा कार्यक्रमका बारेमा जानकारी दिने लक्ष्य रहेको वडा नं। ३ का वडाअध्यक्ष समेत रहेका आचार्यले बताए । श्रमिकहरुको सीप र क्षमता अभिवृद्धि गर्दै नागरिकहरुमा कामलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न र श्रम बजारमा उनीहरुको माग र सम्मान वृद्धि गर्नका लागि स्थानीय बेरोजगार युवाहरुलाई सीप सिक्न अभिप्रेरित गर्ने उद्देश्य समेत मेलाको रहेको छ ।

    आयोजकका अनुसार, मेलामा विभिन्न उद्योग व्यवसायबाट १६, मध्यपुर थिमि नगरपालिकाबाट ३, प्राविधिक शिक्षालयहरुबाट ९ वटा स्टल रहनेछन् । त्यसैगरी स्थानीय उत्पादन मध्यपुर माक्स मेकिङ्क र हस्तकलाबाट २, होटल व्यवसायीबाट २, अस्पतालको २, बैङ्क तथा वित्तिय संस्था, वल्र्डलिङ्क कम्युनिकेसन, इन्स्योर परियोजनाका१–१ वटा गरी कुल ३७ वटा स्टलहरु रहनेछन् ।

     

    मध्यपुर थिमिका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार, मेलामा ३ हजार देखि ३५ सय जनाको सहभागिता रहने अनुमान नगरपालिकाले गरेको छ । मेलाबाट कम्तीमा एक हजार ५ सय युवाले वृत्ति परामर्श सेवा प्राप्त गर्ने र बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेको उद्योग तथा व्यवसायसँग उपलव्ध विभिन्न रोजगारीका अवसरवारे जानकारी लिने अपेक्षा गरिएको उप प्रमुख श्रेष्ठले बताए।


    images
    images

    Logo