भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकाको चौधौं नगरसभा तथा अधिवेशनले आगामि आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम र बजेट स्वीकृत गरेको छ । नगरसभाले नगरप्रमुख बासुदेव थापाले प्रस्तुत गरेको २ सय १८ बुँदे नीति तथा कार्यक्रम र उपप्रमुख सरिता तिमसिना भट्टराईले प्रस्तुत गरेको १०९ बुँदे बजेट स्वीकृत गरेको हो । नगर परिषदले आगामि आर्थिक वर्षका लागि दिगो विकास व्यवस्थित शहर, स्वच्छ समृद्ध सूर्यविनायक नगर भन्ने मुल नारा तय गरेर दीर्घकालीन बिकासमा जोड दिने नीति लिएको छ ।
आम नागरिकले भेट्न, सुन्न र महशुस गर्न पाउने सबैभन्दा नजिकको सरकार र सेवा प्रवाहको पहिलो जवाफदेहिता वहन गर्ने स्थानीय सरकारको रुपमा काम गर्ने नीति अंगिकार गरेको छ । आफ्ना नागरिकहरुको सर्वोत्तम हितलाई शीरमा राखी निर्वाचित हुनु अगाडि जनता सामु गरिएको प्रतिवद्धता पुरा गर्ने दिशामा अग्रसर रहेको दस्तावेजको रुपमा नीति कार्यक्रम र बजेट प्रस्तुत भएको नगर प्रमुख बाशुदेव थापाले बताए । प्रमुख थापाका अनुसार, प्रस्तुत नीति तथा कार्यक्रले संघ, प्रदेश र स्थानीय तहको दीर्घकालीन तथा आवधिक योजनाले परिलक्षित गरेका विषयहरु एवं अन्तरष्ट्रिय रुपमा मुलुकले अनुमोदन गरेको दिगो विकासका लक्ष्यहरुको प्राप्तिको प्रतिवद्धतालाई मूल आधार बनाएको छ ।
सुर्यविनायक नगरपालिकाले अघिल्लो कार्यकालमा आम नगरवासीहरुको माग र आवश्यकता अनुसार भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखी लक्ष्यभन्दा धेरै उपलब्धी हासिल गर्न सफल भएको थियो । आगामि वर्ष पूर्वाधार विकास र मानवीय विकासलाई संगसंगै लैजाने नीति अनुरुप नीति तथा कार्यक्रम र बजेट मानवीय विकास तर्फ परिलक्षित रकेको नगर प्रमुख थापाले बताए । सूर्यविनायक नगरपालिकाको आ.व.२०८०/८१ को लागि कुल २ अर्व १० करोड ५० लाखको बजेट विनियोजन गरेको छ । जसमध्ये पूँजीगत तर्फ १ अर्व ११ करोड ९२ लाख ३३ हजार अर्थात (५३.१प्रतिशत) र चालू खर्चतर्फ ९८ करोड ५७ लाख ६७ हजार (४६.८२ प्रतिशत) रकम छुट्याएको छ ।
सूर्यविनायक नगरपालिकाको बजेटमा केन्द्र वा प्रदेशको अनुदानको तुलनामा आन्तिरिक आय वढी रहेको बताउँदै नगरपालिकाका प्रबक्ता रबिन्द्र सापकोटाले कुल बजेटमा आन्तरिक आयको हिस्सा ५२.५८ प्रतिशत रहेको बताए । सापकोटाका अनुसार, आगामि वजेटमा संघ प्रदेशको अनुदानको हिस्सा ४७.४२ प्रतिशत रहेको छ । आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्व परिचालनबाट २८ करोड ९८ लाख घरजग्गा रजिष्ट्रेशनबाट ३८ करोड, चालू आर्थिक वर्षको बचतबाट ४० करोड रकम रहेको छ । त्यसैगरी नगद लागत सहभागिता ३ करोड ७१ लाख ३८ हजार संघ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदान २१ करोड ६६ लाख ७६ हजार रहेको उप प्रमुख सरिता भट्टराईले बताइन् । भट्टराईका अनुसार, संघ र प्रदेशबाट प्राप्त सशर्त अनुदान ३८ करोड १२ लाख ९४ हजार, प्रदेशबाट प्राप्त विशेष अनुदान ५० लाख, संघ तथा प्रदेशको राजस्व बाँडफाँडबाट १५ करोड ५५ लाख ७२ हजार, समपूरक योजना कार्यान्वयनको लागि जिल्ला समन्वय समिति र प्रदेशबाट ६ करोड, सामाजिक सुरक्षा कार्यक्रमबाट १७ करोड, ३२ लाख २० हजार सडकबोर्डबाट ६३ लाख प्राप्त गरी स्रोत व्यवस्थापन गरिएको छ ।
नीति तथा कार्यक्रममा नगरपालिकाको स्वीकृत भू उपयोग योजना अनुसार कृषि क्षेत्रमा वर्गिकृत भूमिमा सम्पत्ती एवं भुमिकरमा ९० प्रतिशत छुट दिईने र अन्य आवासीय एवं व्यवसायिक क्षेत्रको हकमा जिल्ला मालपोत कार्यालयको मूल्यांकन दर कायम गरी समायोजन सहित सम्पत्ती र भुमिकर निर्धारण गरिने उल्लेख छ । त्यसैगरी कृषि क्षेत्रका रुपमा रहेका अधिकांश जग्गाहरु आवासीय र व्यवसायिक क्षेत्रमा वर्गिकृत हुदां सम्पत्ती करको दरमा केही वृद्धि हुन गई आन्तरिक राजस्व परिचालमा सहयोग पुग्ने अवस्था रहेको नगरपालिकाले जनाएको छ । कुल बजेटमा आन्तरिक आयको हिस्सा वढी हुनु र चालूको तुलमा पूँजीगत बजेटको प्रतिशत वृद्धि हुनुले सूर्यविनायक नगरपालिको वित्तीय अवस्थामा सकारात्मक सुधार भएको सन्देश प्रवाह भएको नगर प्रमुख थापाको भनाई छ ।
मुलुकभरीमै पहिलो पटक सामुदायिक विद्यालयहरुमा प्रतिस्पर्धात्मक परीक्षा लिई प्रधानाध्यापक नियुक्ती गरेको सुर्यविनायक नगरपालिकाले शैक्षिक सुधारका लागि आगामी आवमा कम्तिमा २ वटा सामुदायिक विद्यालयलाई नमूना विद्यालय नमूना बिद्यालयका रुपमा विकास गर्ने योजना रहेको अघि सारेको प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले बताए । केसीका अनुसार, सो कार्यका लागि नगर परिसदले एक करोड रुपैया बजेट विनियोजन गरेको छ । त्यसैगरी नगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्ने उद्देश्लयले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल तथा ईन्जिनियरिगं विषय सहितको आंगिक क्याम्पस संचालनका लागि जग्गा प्राप्ति सहित अन्य प्रकृया अगाडि वढाईएको केसीले बताए ।
खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राख्ने नीति अवलम्बन गर्दै नगरपालिकाले वडा नं ९ रिखेटारमामा अन्तरिष्ट्रय स्तरको रंगशाला निर्माण तथा वडा नं ७ मा व्यवस्थित खेल मैदान निर्माणका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरपालिकाद्धारा सञ्चालित अस्पताल लगायत सवै स्वास्थ्य संस्थाको सेवा प्रवाहमा वृद्धि गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसैगरी स्वास्थ्य वीमा कार्यक्रमलाई निरन्तरता दिने,बालमैत्री नगरपालिका घोषणा गर्ने, नगरवासीहरुको लागि निशुल्क शववाहन सेवा संचालन एवं नागरिकको स्वास्थ्य प्रति संवेदनशील रही विभिन्न क्रियाकलाप संचालनका लागि वजेट बिनियोजन गरिएको छ ।
कृषिलाई समेत प्राथमिक्तामा राखेको सूर्यविनायक नगरपालिकाले च्याउ, कुरिलो, गोलभेडा, मासुजन्य उत्पादन र दुग्ध उत्पादनमा आत्मनिर्भर बनाई मुलुका अन्य क्षेत्रमा समेत निकासीका लागि नीतिगत र प्रकृयागत व्यवस्था मिलाएको जनाएको छ । जसबाट त्थानीयको आर्थिक क्रियाकलापमा बृद्धि हुने नगरपालिकाको अपेक्षा छ । आवासीय तथा व्यवसायिक क्षेत्रम वर्गिकृत जग्गामा समेत कृषि उत्पादन वृद्धिमा प्रोत्साहन दिन नगरपालिकाले ५ वर्ष भन्दा वढी अवधिको लागि कृषि तथा पशुपालन कार्यको लागि करार सम्झौता गरिएको खण्डमा सो जग्गाको सम्पत्ती करमा छुट दिने नीति अवलम्वन गरेको छ ।
स्थानीय स्तरमा रोजगारी सृजना गर्न उद्यमीशिलताको विकासका लागि स्वरोजगार कोष, सरकारी नीजि तथा सहकारीको समन्वयमा आय आर्जन कार्यक्रम, प्राविधिक तालिमको व्यवस्था, व्यवसायिक क्षेत्रको सुदृढीकरण सामुदायिक वनमा पर्यटनको माध्यमबाट आय आर्जन जस्ता कार्यक्रम नगरपालिकाले अघि वढाएकोछ । त्यसैगरी विपद व्यवस्थापन गर्दै विपद र प्रकोप जोखिम न्यूनीकरण एवं तत्काल आईपर्ने विपद प्रतिकार्यका लागि व्यवस्थापन कोषमा ४ करोड रकम छुट्याउँने निर्णय नगरपरिषदले गरेको छ । पूर्वाधार विकासलाई दिगो वातावरण मैत्री बनाउदै आगामि वर्षको नीति तथा कार्यक्रममा नगर क्षेत्रमा निर्माण हुने संरचनाको उत्थानशीलताका लागि घर संरचना मापदण्ड निर्माण, भवन संहिताको कडाईका साथ पालना र प्रविधिको प्रयोगमा जोड दिईएको छ ।
नगर प्रमुख उज्यालो कार्यक्रमको प्रभावकारिता हेर्दे आगामी वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिईएको छ । मेलम्चीको पानी सूर्यविनायक नगर क्षेत्रमा वितरण गर्न नगरपालिकाको आन्तरिक स्रोतबाट ४ करोड ८० लाख र उपभोक्ताबाट साझेदारी ३ करोड २० गरी ८ करोडको लगानीमा सूर्यविनायक वृहत खानेपानी आयोजना विशेष समिति गठन भई कार्य प्रारम्भ गरिएको छ । सो कार्यक्रम आगामी आर्थिक वर्षभित्र सम्पनन गर्ने लक्ष्य रहेको नगर प्रमुख बाशुदेव थापाले बताए । सो कार्यक्रमबाट वडा नं १ देखि ६ सम्मका करिव ७५ हजार जनसंख्या लाभान्वित हुनेछन् । त्यसैगरी नगरपालिकाले फोहरमैला व्यवस्थापनका लागि निजी क्षेत्रसंगको साझेदारीलाई थप प्रभावकारी बनाई स्रोतमा नै फोहर वर्गिकरण गर्ने भएको छ ।
उप प्रमुख भट्टराईका अनुसार, आगामि वर्ष महिला, बालबालिका, अपागं र जेष्ठ नागरिकहरुलाई कानूनी साक्षरता, रोजगारी सृजना, र आत्मसम्मान अभिवृद्धिका क्रियाकलाप संचालन हुनेछ । त्यसैगरी सरकारी, निजी क्षेत्र र सहकारीको समन्वयमा विभिन्न सामाजिक तथा आर्थिक विकासका क्रियाक्लाप संचालन गरी रोजगारी अभिवृद्धि गरिने कार्यक्रम रहेको भट्टराईको भनाई छ । वजेटमा जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासमा विशेष जोड दिईने नीति कार्यक्रम र बजेटमा सुनिश्चितता गरिएको बताउँदै उप प्रमुख भट्टराईले प्रविधिको प्रयोग गरीसेवा प्रवाहलाई छिटो छरितो झंझट रहित बनाउन आवश्यक नीति तर्जुमा र बजेट व्यवस्थापन गरिएको बताइन् ।
आगामि वर्षको वजेटमा हाम्रो कर हाम्रै विकासको भर भन्ने नारा सहित राजस्व सुधार योजनामा उल्लेख भए बमोजिम करको दायरा वृद्धिका लागि व्यवसाय दर्ता अभियान, घर वहाल स्वयं घोषणा अभियान तथा राजस्वका नयाँ स्रोतहरुको पहिचान एवं प्रवर्धन गर्ने कार्यक्रम राखिएका छन् । सार्वजनिक सेवालाई व्यवसायिक, प्रविधिमैत्री, जनमुखी, पारदर्शी, उत्तरदायी चुस्त र प्रभावकारी बनाउदै दिगो विकास, सुशासन र समृद्धिलाई संस्थागत गर्नका लागि नीति कार्यक्रम र बजेटमा आवश्यक व्यवस्था मिलाईएको छ । यसैबीच भक्तपुरमै पहिलो पटक सुर्यविनायक नगरपालिकाले संचार क्षेत्रमा क्रियाशील मिडियाकर्मीको सुझाव बमोजिम पहिलो पटक मेडिया क्षेत्र परिचालन नीति तर्जुमा सहित २५ लाख बजेट विनियोजन गरेको छ । नगर क्षेत्रमा क्रियाशील संचारकर्मीहरुको वीचमा आवश्यक समन्वय र सहयोगका लागि नगर स्तरीय संचार डेस्क समेत गठन गर्ने वजेट तथा नीति कार्यक्रममा उल्लेख छ ।



