images
images

बागलुङका स्थानीय तहले ल्याए ५ अर्ब ९६ करोड रुपैयाँको बजेट


  • 365
    SHARES
  • २०८० आषाढ ११ गते सोमबार

    बागलुङका स्थानीय तहले ल्याए ५ अर्ब ९६ करोड रुपैयाँको बजेट
     
    काठमाडौं । बागलुङका सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । बागलुङका ४ नगरपालिका र ५ गाउँपालिकाले ५ अर्ब ९६ करोड ७७ लाख १७ हजार ६ सय रुपैयाँको बजेट ल्याएका हुन् । आर्थिक वर्ष २०८/८१ को लागि सङ्घीय सरकार, प्रदेश सरकारको अनुदान र आन्तरिक आयका आधारमा बजेट पेस गरिएको छ ।
     
    बागलुङ नगरपालिकाले १ अर्ब ३३ करोड रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाको १३औँ नगरसभा समक्ष नगर उपप्रमुख राजु खड्काले नगरपालिकाले सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, सर्शत र समपुरक शीर्षकमा प्राप्त अनुदान, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र नगरपालिकाको आन्तरिक आयको आधारमा बजेट प्रस्तुत गरेका थिए । 
     
    गलकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६८ करोड १२ लाख १८ हजार रुपैयाँ बजेट ल्याएको छ । नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले वित्तीय समानीकरण अनुदानबाट ११ करोड ३८ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट १० करोड ९५ लाख रुपैयाँ, सशर्त अनुदानबाट ३६ करोड १० लाख रुपैयाँ, विशेष अनुदानबाट १ करोड ५० लाख रुपैयाँसहितको बजेट पेस गरे ।
     
    त्यस्तै  जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७२ करोड ४ लाख ६८ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख हरिहर शर्माले ७२ करोड ४ लाख ६८ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।  
     
    त्यसैगरी, ढोरपाटन नगरपालिकाले ५५ करोड २४ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । नगर उपप्रमुख धनबहादुर कायतले नगर सभासमक्ष, आन्तरिक आम्दानी, सङ्घीय सरकार र प्रदेश सरकारको अनुदानका आधारमा ५५ करोड २४ लाख रुपैयाँको बजेट नगरसभासमक्ष पेस गरेको बताए । 
     
    त्यस्तै बागलुङको तमानखोला गाउँपालिकाले ३० करोड ३८ लाख ४९ हजार रुपैयाँ बजेट ल्याएको छ । तमानखोला गाउँपालिकाको चालु खर्च ४ करोड ४० लाख रुपैयाँ, सङ्घीय सशर्त अनुदान ११ करोड ७५ लाख रुपैयाँ, समपुरक अनुदान ७० लाख रुपैयाँ, सङ्घीय विशेष अनुदान ९० लाख रुपैयाँका आधारमा बजेट तयार गरिएको हो ।  
     
    बागलुङको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड १२ लाख ३४ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँसभामा उपाध्यक्ष तेजबहादुर थापा तिलकले बजेट प्रस्तुत गरेका थिए । 
     
    बडिगाड गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६७ करोड १९ लाख ६४ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । गाउँसभामा आर्थिक वर्ष २०८०/८१ को लागि गाउँपालिका उपाध्यक्ष भीमसेन बनले प्रस्तुत गरेको बजेट पारित भएको हो । 
     
    त्यस्तै ताराखोला गाउँपालिकाले आगमी आर्थिक वर्षका लागि ३६ करोड ६७ लाख ९३ हजार रुपैयाँ बजेट पेस गरेको छ । गाउँपालिका उपाध्यक्ष भीमबहादुर रोकाले आन्तरिक आम्दानी, सङ्घीय सरकारको विभिन्न शीर्षक अन्तर्गतको अनुदान र गण्डकी प्रदेशको विभिन्न शीर्षकको अनुदान अन्तरगत आगमी आर्थिक वर्ष २०८०/८१ का लागि ३६ करोड ६७ लाख रुपैयाँ बजेट गाउँसभा समक्ष पेस गरेका छन् । 
     
    यस्तै बरेङ गाउँपालिकाले ३१ करोड २९ लाख ८१ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष दिलीपकुमार पुनले गाउँसभामा आर्थिक वर्ष २०८०/८१ का लागि उक्त बजेट प्रस्तुत गरेका छन् । 
     
    जिल्लाको निसीखोला गाउँपालिकाले ४६ करोड ४६ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आइतबार आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले सङ्घीय अनुदान, प्रदेश अनुदान र आन्तरिक आयका आधारमा उक्त बजेट पेस गरेका हुन् । 
     
    गाउँपालिकाले सामाजिक विकासमा २० प्रतिशत, पूर्वाधारमा ३५ प्रतिशत, आर्थिक विकासमा २० प्रतिशत, सुशासन र वनमा १०÷१० प्रतिशत बजेट बाँडफाँट गरेर सभामा पेस गरेको हो । 

     


    images
    images

    Logo