भक्तपुर । भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार नगरपालिकाकी उपप्रमुख रजनी जोशीले आर्थिक २०८०/८१ को बजेट प्रस्तुत गर्दै सो बराबरको रकम विनियोजन गरिएको बताएकी हुन् ।
विनियोजित बजेटको चालू खर्चतर्फ १ अर्ब ३७ करोड ९४ लाख ९४ हजार रुपैया अर्थात् ५५.८० प्रतिशत र पुँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख रुपैयाँ अर्थात् ४५.२० प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख अर्थात् ४.१९ प्रतिशत विनियोजन गरेको छ ।
बजेट वक्तव्यमा ख्वप इन्जिनियरिङ कलेजमा बी ब्लकको नयाँ भवन निर्माणका लागि आगामी वर्ष २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नयाँ भवन निर्माणको लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै ख्वप कलेज अफ ल का लागि आवश्यक जग्गा खरिद गरेको छ ।
नगरपालिकाभित्र सञ्चालित सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर वृद्धिका लागि अनुदान प्रदान गर्न २ करोड बजेटको व्यवस्था गरिएको छ भने शैक्षिक ऋणलाई यस वर्ष पनि निरन्तरता दिन २ करोड रुपैयाँ बजेटमा विनियोजन गरिएको छ ।
नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीहरुका लागि निजहरुले पाउँदै आएको तलबमा भक्तपुर नगरपालिकाको तर्फबाट प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँको दरले थप पारिश्रमिकको व्यवस्था आगामी आर्थिक वर्षको बजेटले गरेको छ ।
लिवालीमा शीत भण्डार निर्माण गर्न १ करोड रुपैयाँ, वडा नं. ५ मा तरकारी बजार निर्माण गर्न ७० लाख रुपैया थप विनियोजन गरेको छ भने कृषि अनुसन्धान केन्द्र स्थापना गर्न २० लाख र व्यवस्थित वधशाला निर्माण गर्न १० लाख रुपैयाँ बजेट राखेको छ ।
हनुमन्ते खोला सुधार गर्नका लागि रिटेनिङ वाल निर्माणलगायतका कार्य गर्न १ करोड रुपैया, अरनिको सभाभवन निर्माणका लागि नगरपालिकाबाट ३ करोड २० लाख रुपैयाँ र बागमती प्रदेश सरकारबाट ८० लाख गरी कुल ४ करोड विनियोजन गरी बहुवर्षिय योजनाका रुपमा अघि बढाएको छ ।
साथै कमलविनायक बहुउद्देश्यीय भवन निर्माण कार्यका लागि ४ करोड, बहुउद्धेश्यीय सामुदायिक भवन निर्माण कार्यका लागि २५ लाख विनियोजन गरिएको छ भने वडास्तरीय योजनाको मर्मत, निर्माण तथा स्तरोन्नतिका लागि ५०/५० लाख गरी कुल ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
खेलकुदअन्तर्गत महेश्वरी स्टेडियम निर्माणमा १ करोड ५० लाख, बेखाल कभर्ड हल निर्माणमा १ करोड र शहिद स्मृति खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन निर्माणमा २५ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरभित्रका उपयुक्त पोखरीहरुलाई पौडी पोखरीको रुपमा विकास गर्न ५० लाख बजेट विनियोजन गरेको छ ।
विविध योजना तथा कार्यक्रमहरुअन्तर्गत पर्ति तथा सार्वजनिक जग्गा संरक्षणका लागि २० लाख रुपैयाँ, देको मिवा इटापाके आवास योजनाका लागि १८ करोड रुपैयाँ, पार्किङ पूर्वाधार निर्माणमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
सिसिटिभी प्रणाली जडान गर्न २३ लाख, आदर निकेतन भवन निर्माण गर्न थप ५० लाख रुपैयाँ विनियोजन गरेको छ भने यूवा उद्यमशील ऋणको व्यवस्था गर्न ५ करोड बराबरको ऋण कोषको व्यवस्था बजेटले गरेको छ ।



