भक्तपुर । सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ७ करोडको बजेट ल्याएको छ । आइतबार नगरपालिकाकी उपप्रमुख सरिता तिमसिना भट्टराईले २०८०/८१ को बजेट प्रस्तुत गर्दै सो रकम बराबरको खर्च गरिने बताएकी हुन् ।
कुल बजेटमध्ये पूंजीगत तर्फ १ अर्व ११ करोड ९२ लाख ३३ हजार रुपैयाँ र चालू तर्फ ९८ करोड ५७ लाख ६७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
विनियोजन गरिएको कुल बजेटमध्ये नगरपालिकाको आन्तरिक स्रोतबाट १ अर्व १० करोड ६९ लाख ३८ हजार रुपैयाँ, जिससबाट २ करोड रुपैयाँ, संघ सरकारको तर्फबाट ८४ करोड ४२ लाख १६ हजार रुपैयाँ र वागमती प्रदेश सरकारको तर्फबाट १३ करोड ३८ लाख ४६ हजार रुपैयाँ गरी कुल बजेट स्रोत व्यवस्थापन भएको जनाइएको छ ।
चालुतर्फ–विषयक्षेत्रगत समिति र शाखाबाट प्रस्तावित कार्यक्रम संचालन गर्न रु ५० करोड ९४ लाख २७ हजार रुपैयाँ, सामाजिक सुरक्षा भत्तामा १७ करोड ३२ लाख २० हजार रुपैयाँ चालू शिर्षकमा संचालन हुने अन्य कार्यक्रमका लागि ३० करोड ३१ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको नगरपालिकाकी उपप्रमुखले बताएकी छिन् ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्व परिचालनबाट २८ करोड ९८ लाख रुपैयाँ, घरजग्गा रजिष्ट्रेशनबाट ३८ करोड रुपैयाँ, चालू आर्थिक वर्षको बचतबाट ४० करोड रुपैयाँ, नगद लागत सहभागिता ३ करोड ७१ लाख ३८ हजार रुपैयाँ प्राप्त हुने अनुमान नगरपालिकाको रहेको छ ।
त्यस्तै, संघ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदान २१ करोड ६६ लाख ७६ हजार रुपैयाँ, संघ र प्रदेशबाट प्राप्त सशर्त अनुदान ३८ करोड १२ लाख ९४ हजार रुपैयाँ, प्रदेशबाट प्राप्त विशेष अनुदान ५० लाख रुपैयाँ, संघ तथा प्रदेशको राजस्व बाँडफाँडबाट १५ करोड ५५ लाख ७२ हजार रुपैयाँ, समपूरक योजना कार्यान्वयनको लागि जिल्ला समन्वय समिति र प्रदेशबाट ६ करोड रुपैयाँ, सामाजिक सुरक्षा कार्यक्रमबाट १७ करोड, ३२ लाख २० हजार र सडकबोर्डबाट ६३ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।



