बझाङ । दुर्घटनामा परेर सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंह गम्भीर घाइते भएका छन् । उनकी पत्नी र भाउजूको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा पत्नी अमृता सिंह र मन्त्रीकी भाउजू जयादेवी सिंह रहेको प्रहरीले जनाएको छ । घाइते मन्त्री सिंह, उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज लगिएको बताइएको छ ।
सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मंगलबार दिउँसो दुई बजेतिर केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट करिव ५० मिटर कालंगा खोला किनारमा खसेको थियो ।
दुर्घटनामा घाइते भएकालाई अर्को गाडीमा रहेका सुरक्षाकर्मीले उद्धार गरी केदारस्युँ गाउँपालिका–१, देउरास्थित ऋतु पोलिक्लिनिकमा पुर्याएका थिए ।



