शुक्रबार बेलुका भारतको पूर्वी राज्य ओडिसामा भएको रेल दुर्घटनामा कम्तीमा २८८ जनाको ज्यान गएको र ८०० भन्दा धेरै घाइते भएका छन् । दुईवटा यात्रुवाहक रेल र एउटा मालवाहक रेल ठोक्किएर भएको उक्त दुर्घटनाका बारेमा अझै धेरै प्रश्नहरु अनुत्तरित नै छन् ।
प्रतिवेदनका अनुसार ती मध्ये एकले रोकिएको मालवाहक रेललाई ठक्कर दियो । जसका कारण रेलका कोटहरु तेस्रो ट्रयाकमा पल्टियो र आउँदै गरेको अर्को रेल ट्रयाकबाट खस्यो । प्रारम्भिक अनुसन्धानका अनुसार सिग्नल फेल भएका कारण दुर्घटना भएको हो । घटनाको सत्यतथ्य वृहत अनुसन्धानपछि मात्र आउनेछ । तर पनि त्यसले भारतीय रेलवे सुरक्षाको सन्दर्भमा फेरि नयाँ चिन्ताहरु उत्पन्न गरेको छ ।
विश्वको सबैभन्दा ठूलोमध्ये एक रहेको, १ लाख किलोमिटरमा विस्तार भएको भारतीय रेलवे प्रणालीबाट दैनिक लगभग २ करोड ५० लाख मानिसहरुले लाभ लिँदै आएका छन् । रेलमन्त्री अश्विनी वैष्णवका अनुसार गत वर्ष करिब ५,२०० किलोमिटर नयाँ ट्र्याक निर्माण गरिएको थियो । हरेक वर्ष आठ हजार किलोमिटर ट्र्याक पनि स्तरोन्नति हुँदै आएको मन्त्रीले बताए ।
हालैको एक अन्तक्र्रियामा वैष्णवले अधिकांश ट्रयाकको स्तरवृद्धि गरि प्रतिघण्टा १०० किलोमिटरको गति भएको रेल समेत चलाउन सकिने बनाउन लागिएको बताए । अन्य ट्रयाकको केही अंशलाई १३० किलोमिटर गति र केही अंशलाई १६० किलोमिटर सम्मको उच्च गतिमा रेल चलाउन सकिने गरि स्तरोन्नति गर्न लागेको उनले बताए ।
आर्थिक राजधानी मुम्बई र अहमदाबाद शहरको बीचमा एक उच्च गतिको रेल ट्रयाक निर्माण भइरहेको छ । उक्त कार्य देशभरि छिटो रेल सञ्चालन गर्ने सरकारको योजनाको एक हिस्सा हो ।
तर रेलवे बोर्डका पूर्वअध्यक्ष विवेक सहायका अनुसार, अझैपनि रेल ट्रयाकबाट खस्नु एउटा डरलाग्दो समस्याको रुपमा नै रहिरहेको छ । ‘एउटा रेल धेरै कारणले दुर्घटना भएको हुनसक्छ, ट्रयाकको खराबीका कारण हुनसक्छ, कोचमा केही खराबी भएका कारण हुनसक्छ या त चालकको त्रुटि पनि हुनसक्छ’, उनले भने ।
२०१९÷२० को सरकारी रेलवे सुरक्षा प्रतिवेदन अनुसार ७० प्रतिशत दुर्घटनाहरु ट्रयाकबाट खसेर भएको थियो । जुन अघिल्लो वर्ष ६८ प्रतिशत थियो । दुर्घटनाका लागि आगलागी र ठक्कर क्रमशः १४ प्रतिशत र ८ प्रतिशत जिम्मेवार छन् ।
प्रतिवेदन अनुसार ट्रयाकबाट खसेर दुर्घटना भएका ४० वटा रेलमध्ये ३३ वटा यात्रु रेल र ७ वटा मालवाहक रेल थिए । ती मध्ये १७ वटा दुर्घटनाको कारण ‘त्रुटिहरु’ भएको देखाइएको छ । जसमा ट्रयाक भाँचिएकालाई समेत समावेश गरिएको छ ।
प्रतिवेदनका अनुसार ९ वटा घटनाहरु भने इन्जिन, कोचहरुमा आएको खराबीका कारण लिगबाट बाहिर गएका थिए ।
धातुबाट बनेको रेलवे ट्रयाकहरु गर्मीमा विस्तार हुने र जाडोमा संकुचित हुने गर्छ । तिनीहरुलाई नियमित रुपमा मर्मत गर्नु आवश्यक हुन्छ । खुकुलो भएको लिगहरु समयसमयमा कस्ने, घर्षण कम गर्न प्रयोग गरिने ग्रीजजस्ता लुब्रिकेट फेर्ने आदि कार्यहरु नियमित रुपमा हुन आवश्यक छ । फूट, ट्रली, लोकोमोटिभ आदिको प्रयोग गरि ट्रयाकको निरीक्षण गरिन्छ ।
भारतको रेलवेले प्रस्ताव गरेअनुसार ११० किलोमिटर प्रतिघण्टा र १३० किलोमिटर प्रतिघण्टा बीचको गतिलाई कायम गर्न डिजाइन गरिएका ट्र्याकहरूको संरचनात्मक र ज्यामितीय अखण्डतालाई सावधानीपूर्वक मूल्याङ्कन गर्न ट्र्याक रेकर्डिङ कारहरूले प्रत्येक तीन महिनामा एक पटक मूल्यांकन गर्नुपर्ने व्यवस्था रहेको छ ।
अप्रिल २०१७ र मार्च २०२१ को बीचमा संघीय लेखा परीक्षकहरू द्वारा ट्रयाकबाट बाहिर गएका रेलसम्बन्धी प्रतिवेदनमा केही चिन्ताजनक निष्कर्षहरू थिएः
रिपोर्टका अनुसार ट्र्याकहरूको ज्यामितीय र संरचनात्मक अवस्थाहरू मूल्याङ्कन गर्न आवश्यक ट्र्याक रेकर्डिङ कारहरूद्वारा गरिएको
निरीक्षणमा ३० प्रतिशतदेखि १०० प्रतिशतसम्मको कमी देखिएको थियो ।
११२९ वटा अनुसन्धान रिपोर्टहरूको अध्ययनले लिगबाट बाहिर गएका कारण दुर्घटना भएका रेलहरुमा दुई दर्जन कारक तत्वहरु जिम्मेवार रहेको निष्कर्ष निकालिएको थियो ।
१७१ घटनाको प्रमुख कारणमा लिगको मर्मतसम्भारका क्रममा, तोकिएका सीमाभन्दा वाहिरका सामाग्री प्रयोग भएकोलाई मानिएको छ ।
१८० भन्दा बढी घटनाहरू यान्त्रिक कारणले गर्दा पटरीबाट खसेका थिए । तीमध्ये एक तिहाइभन्दा बढी कोच र गाडीमा भएको त्रुटिको कारण थियो ।
‘खराब ड्राइभिङ र अत्याधिक गति’ लाई ट्रयाकबाट उत्रनुको अर्को जिम्मेवार पक्ष मानिएको छ ।
भारतीय रेलहरुमा एन्टी–कोलिसन डिभाइसहरू जडान गर्ने बारे धेरै कुराहरू भइरहेका छन् । तर हालसम्म यो प्रणाली दिल्ली र कोलकाता र दिल्ली र मुम्बई बीचको रेलमा मात्र स्थापना भएको एक अधिकारीले बताए । यसबाहेक, यो अस्पष्ट छ कि यस्तो प्रणालीले कसरी ट्रयाकबाट खसेको उक्त घटनाको मामिलामा सहयोग पुर्याउन सक्थ्यो ।
सन् २०१० मा पश्चिम बंगालमा यात्रुवाहक रेल पटरीबाट खसेर आउँदै गरेको मालवाहक रेलसँग ठोक्किँदा १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । अन्वेषकहरूले माओवादी विद्रोहीहरूले ट्र्याकमा रेलका पाँचवटा डिब्बा तोडफोड गरेर फ्याँकेका कारण कोलकाता–मुम्बई यात्रुवाहक ट्रेन लिगबाट खसेको बताएको थियो । तर शुक्रबारको दुर्घटनामा अहिलेसम्म कुनै तोडफोडको संकेत देखिएको छैन ।
रेलवेका अनुसार २०२१/२२ मा ठोकिएर, ट्रयाकबाट बाहिर गएर, आगलागी भएर, विस्फोट भएर र सवारी साधानहरुसँग ठोकिएर ३४ वटा दुर्घटनाहरु भएका थिए । जुन अघिल्लो वर्ष भएका २७ वटा दुर्घटना भन्दा बढी हो । ‘द हिन्दु न्यूजपेपर’ले २०२२/२३ मा यस्ता दुर्घटना ४८ पुगेको जनाएको छ ।
बीबीसी



