images
images

अलैँचीको निर्यात ह्वात्तै बढ्यो 


  • 676
    SHARES
  • २०८० जेठ १३ गते शनिबार

    अलैँचीको निर्यात ह्वात्तै बढ्यो 

    काठमाडौं । मुलुकबाट कुल निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अलैँचीको निर्यात भने ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म अलैँची निर्यात ७२ प्रतिशतले बढेर सात अर्ब २८ करोड १४ लाख २५ हजार रुपियाँ बराबरको ८९ लाख २१ हजार ६ सय ७९ केजी निर्यात भएको छ ।

    चालु आर्थिक वर्षको दस महिनामा नेपालको कुल निर्यात २४ प्रतिशतले घटेर १ खर्ब ३० अर्ब ९० करोड रुपियाँको भएकोमा नेपालमा उत्पादित अलैँचीको निर्यात भने बढेको हो । गत वर्ष सो अवधिमा ४ अर्ब २२ करोड १९ लाख ९७ हजार रुपियाँ बराबरको ४६ लाख ७० हजार ३ सय ६३ किलो अलैँची निर्यात भएको थियो । 

    चालु आर्थिक वर्षमा अलैँची दोब्बर परिमाणले निर्यात भएको विभागको तथ्याङ्क छ । आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपियाँ बराबरको ५३ लाख ६७ हजार ४ सय ४३ किलो अलैँची निर्यात भएको थियो

    अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि निर्यातमा समेत वृद्धि भएको हो । नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची, जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिका लगायतका देशमा निर्यात हुने गर्छ । नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो । नेपालबाट भारततर्फ गएको अलैँचीलाई भारतले प्याकेजिङ गरेर आफ्नो ब्रान्ड बनाएर अन्य देशमा निर्यात हुने गरेको पाइएको छ । 

    कृषि तथा पशुुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा १५ हजार ६ सय ६८ हेक्टर क्षेत्रफलमा ८ हजार २ सय ८९ मेट्रिक टन अलैँची उत्पादन भएको छ । यस्तै आर्थिक बर्ष २०७६/७७ मा १६ हजार ५ सय ६५ हेक्टर क्षेत्रफलमा ९ हजार ५ सय ४५ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा १५ हजार ५५ हेक्टर क्षेत्रफलमा सात हजार ९५४ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । पाँचथर, तेह्रथुुम, भोजपुुर, खोटाङ, उदयपुुर, मोरङलगायतका जिल्लामा अलैँची उत्पादन हुुन्छ । 

     


    images
    images

    Logo