images
images

काठमाडौंमा मध्यम वर्षा, अझै तीन दिन पानी पर्ने


  • 248
    SHARES
  • २०८० बैशाख १६ गते शनिबार

    काठमाडौंमा मध्यम वर्षा, अझै तीन दिन पानी पर्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा आज अपराह्नपछि मध्यम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकामा ३१ मिलीमिटर वर्षा मापन गरिएको जनाएको छ । 

    आज पोखरामा २३.२ मिलीमिटर, ताप्लेजुङमा २२ र लुम्लेमा १९ मिलीमिटर वर्षा भएको छ । महाशाखाका अनुसार ५० मिलीमिटर मध्यम र ५० मिलीमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ ।

    देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । उनले भने, “देशका केही स्थानमा आज वर्षा भएको छ भने काठमाडौं उपत्यका, पोखरा ताप्लेजुङलगायत क्षेत्रमा धेरै वर्षा भएको छ ।”

    काठमाडौंमा भारी वर्षासँगै सिंहदरबार वरिपरि न्यूप्लाजा, पुतलीसडक, जमललगायत क्षेत्रको सडक जलमग्न भएका छन् । निरन्तरको वर्षाले सवारी आवागमनमा समेत केही व्यावधान भयो भने गन्तव्यमा पुग्ने सर्वसाधरणले सास्ती व्यहोर्नुपरेको छ ।

    अझै तीन दिन वर्षा

    स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा वर्षा भएको महाशाखाले उल्लेख गरेको छ । अझै तीन दिन वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताए । 

    “पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणले वर्षा गराएको छ । रातिको समयमा दिउँसोको भन्दा सिस्टम कमजोर हुने भएकाले वर्षा कम हुन्छ । भोलि र पर्सि पनि वर्षाको सम्भावना छ”, उनले भने । प्रि–मनसुन पनि सक्रिय रहेकाले मेघगर्जन/चट्याङसहित वर्षा भएको र यो क्रम केही दिन जारी रहने मौसमविद् नगरकोटीको भनाइ छ ।

    भोलि आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

     


    images
    images

    Logo