काठमाडाै । विद्यमान अर्थतन्त्रमा देखिएका समस्या समाधानका उपाय खोज्न निजी क्षेत्रका दुई ठूला छाता सङ्गठनले सहकार्य गर्ने भएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले अर्थतन्त्रका समस्या समाधान गर्न संयुक्तरूपमा अघि बढ्ने ऐक्यबद्धता जनाएका हुन् ।
महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागतका लागि आज परिसङ्घ सचिवालयमा आयोजना गरिएको कार्यक्रममा दुवै संस्थाले यस्तो ऐक्यबद्धता जनाएका हुन् ।
परिसङ्घद्वारा जारी प्रेस विज्ञप्तिअनुसार परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले अहिलेको चुनौतीपूर्ण अवस्थामा अर्थतन्त्र सुधारसँगै निजी क्षेत्रमैत्री कानून निर्माणका लागि सहकार्य आवश्यक रहेको बताएका थिए ।
“उनले निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि छाता सङ्गठन मिलेर समाधानका उपायसहित सरकारसमक्ष प्रस्तुत हुनुपर्ने बताए”, परिसङ्घको विज्ञप्तिमा भनिएको छ, “एक भएर अगाडि बढ्दा निजी क्षेत्रको समस्या समाधान भएको दृष्टान्त प्रस्तुत गर्दै उनले आगामी दिनमा पनि अर्थतन्त्र सुधारसहित लगानीमैत्री वातावरण निर्माणका लागि एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।”
अर्थतन्त्र चलायमान बनाउन तथा विद्यमान चुनौतीको सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्नेमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि सहमति जनाएको प्रेस विज्ञप्तिमा उल्लेख छ । “निजी क्षेत्रले सङ्गठितरूपमा उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै अध्यक्ष ढकालले समान ध्येयका साथ अगाडि बढे समस्या समाधान हुने विश्वास व्यक्त गरे”, विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी, परिसङ्घका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले विद्यमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न यथार्थपरक समाधानका उपायसहित सरकारलाई सुझाउनुपर्ने बताए ।
परिसङ्घका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले थप प्रभावकारीरूपमा निजी क्षेत्रका समान समस्या समाधानका लागि समान समाधानका उपाय खोज्नुपर्ने बताए । महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा परिसङ्घका उपाध्यक्ष हेमराज ढकाल, परिसङ्घ गभर्निङ काउन्सिल सदस्य शिवरतन सारडा, योगेश्वरलाल श्रेष्ठलगायत थिए ।



