काठमाडौं । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ । निगमको डिएचसी–६ ट्विनअटर जहाजले आज रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो ।
बिहान ६ः५५ बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज ७ः३९ बजे गुल्मीको रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन मनेष बिष्टका अनुसार अबको १ हप्तामा निगमको जहाजले नियमित उडान गर्नेछ ।
यसअघि तारा एयरले परीक्षण उडान गरे पनि भाडादर महँगो भएपछि सम्झौता तोडिएको थियो । उक्त एयरले प्रतियात्रु ८ देखि ९ हजार भाडादर कायम गरेको थियो । निगमको जहाजले प्रतियात्रु ६ हजारमै उडाउने भएपछि रेसुङ्गा नगरपालिकाले निगमसँग सम्झौता गरेको थियो ।
परीक्षण उडानमा निगम र नागरिक उड्ययन प्राधिकरण क्यानका प्राविधिक आएका थिए । “विमानस्थलको अवस्था पूर्ण रुपमा ठीक छ, बिहानी समयमा उडान राम्रो हुन्छ”, क्याप्टेन बिष्टले भने, “रिपोर्ट तयार गरी क्यानलाई बुझाएर एक हप्तामै नियमित उडान हुन्छ ।” जहाजमा ४० देखि ४५ मिनेटसम्म मात्र आवतजावतको समय रहनेछ ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले काठमाडौँमै गई लामो समयसम्मको प्रयास गरी नेपाल एयरलाइन्सले परीक्षण गरेको बताए । “गुल्मेलीलाई हवाई सेवा दिन लामो प्रयास गरेका छौँ”, उनले भने, “अब नियमित उडानपछि गुल्मेलीको सपना साकार हुन्छ ।” निगम र रेसुङ्गा नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भइसकेको छ ।



