भक्तपुर । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले राजनीतिक दलले निर्वाचनमा प्रतिस्पर्धा गरे पनि देशको विकास र समृद्धिमा एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।
सुर्यविनायक नगरपालिका-४ गाम्चामा रहेको अरनिको माध्यमिक बिद्यालयमा शनिबार आयोजित छात्रबृत्ति बितरण कार्यक्रममा बोल्दै थापाले सो कुरा बताएका हुन् ।
समाज भ्रष्टाचारले गाँज्यो भनिए पनि परोपकारी, निस्वार्थी र समाजसेवी ब्यक्ती समाजमा उत्तिकै सकृय रहेको थापाको भनाई थियो । बिद्यालयमा बिभिन्न ब्यक्तिले आफ्नो पसिनाको कमाई र नीजि सम्पतीबाट छात्रबृत्ति कोष स्थापना गरेर बिपन्न र जेहेन्दार छात्रछात्रालाई पढ्ने हौसला दिनु र आर्थिक टेवा पुर्याउनु त्यसैको उदाहरण भएको थापाले बताए ।
आफुले समेत अध्ययन गरेको बिद्यालयको शैक्षिक अवस्था सुधार्न यथासक्दो सहयोग गर्ने प्रतिबद्धता थापाले ब्यक्त गरे ।कार्यक्रममा अर्का प्रतिनिधिसभा सदस्य रमा कोईराला पौडेल, बागमति प्रदेशसभा सदस्य किरण थापा, वडा नं.४ का वडा अध्यक्ष तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षुराम न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बिद्यालयका प्राचार्य लेखनाथ रिमाल, बिद्यालयका पुर्व प्राचार्य प्रेमबहादुर खड्का, बिद्यालयका शिक्षक तथा सामाजिक अगुवा कृष्णमुरारी न्यौपाने, व्यवस्थापन समितिका पुर्व अध्यक्ष जगतबहादुर खड्का लगायतले बिद्यालयको सुधार एबं शैक्षिक गतिबिधिबारे चर्चा गरेका थिए। कार्यक्रममा बिभिन्न २० सामुदायिक तथा नीजि बिद्यालयका १ सय ४२ जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई करिब ४ लाख रूपैयाँ बराबरको जनक खड्का, शुशिला भैरब, सानुजगत खड्का छात्रबृत्ति तथा टिका बहादुर खड्का शिक्षाबृत्ति प्रदान गरिएको थियो ।
सोही समारोहमा बिद्यालयका पुर्व प्राचार्य प्रेमबहादुर खड्काले मातापिताको स्मृतिमा ५ लाख एक हजारको अक्षयकोष स्थापना गरि थप छात्रबृत्तिको घोषणा गरेका थिए ।



