images
images

हिमाल र पहाड खाली हुँदै, तराईमा बढ्यो जनसङ्ख्याको चाप


  • 281
    SHARES
  • २०७९ चैत्र १० गते शुक्रबार

    हिमाल र पहाड खाली हुँदै, तराईमा बढ्यो जनसङ्ख्याको चाप

    काठमाडौं ।  नेपालको संविधानले महिलालाई अधिकार सम्पन्न बनाएपछि सम्पत्तिमा समेत उनीहरुको स्वामित्व क्रमशः वृद्धि हुँदै गएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार कूल २३.८ प्रतिशत परिवारमा महिलाको नाममा घर जग्गा रहेको पाइएको छ । जुन २०६८ को तुलनामा १.१ प्रतिशतले बढी हो ।

    देशभर कूल ६६ लाख ६६ हजार ९ सय ३७ परिवार सङ्ख्या रहेको छ । आवासीय घर भने कूल ६६ लाख ६० हजार ८ सय ४१ रहेको छ । त्यसमध्ये घर तथा आवासीय इकाइको स्वामित्वमा समेत महिलाको सहभागितामा वृद्धि भएको छ । कूल ३१ दशमलव ५५ प्रतिशत परिवारमा परिवारमूली महिला रहेको छ । जुन, २०६८ को तुलनामा ५.८२ प्रतिशत बढी हो ।

    कूल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसङ्ख्या रहेकामा महिलाको सङ्ख्या १ करोड ४९ लाख ११ हजार २७ जना महिला छन् ।

    त्यस्तै, १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ पुरुष छन् । लैङ्गिक अनुपातमा हेर्दा कूल एक सय जना महिलामा पुरुषको सङ्ख्या ९५.५९ छ । २०६८ सालको कूल जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहँदा त्यस्तो लैङ्गिक अनुपात ९४ दशमलव १६ थियो ।

    हिमाल र पहाड खाली हुँदै, तराईमा बढ्यो चाप

    जनगणनाको विवरणअनुसार हिमाली तथा पहाडी क्षेत्रमा जनघनत्व क्रमशः कम हुँदै गएको पाइएको छ । तराईमा प्रतिवर्गकिलोमिटर ४ सय ६० बराबरको जनघनत्व रहँदा हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्गकिलोमिटर रहेको छ । मनाङमा प्रतिवर्गकिलोमिटर तीनजना बराबरको मात्रै जनघनत्व रहेको छ । काठमाडौँ उपत्यकामा प्रतिवर्गकिलोमिटर ५ हजार १ सय ६९ बराबरको जनघनत्व छ ।

    प्राप्त विवरणअनुसार सबैभन्दा बढी जनसङ्ख्या काठमाडौँ जिल्लामा रहेको छ । यस जिल्लामा कूल २० लाख ४१ हजार ५ सय ८७ जनसङ्ख्या छ । मनाङमा कूल ५ हजार ६ सय ५८ जनाको अक्सर बसोबास रहेको छ । मोरङ, रुपन्देही, झापा र सुनसरीमा सबैभन्दा बढी जनसङ्ख्याको चाप परेको छ । 

    यस्तै, मुस्ताङ, डोल्पा, रसुवा, हुम्लामा भने जनसङ्ख्या कम रहेको छ । तराई कूल जनसङ्ख्याको ५३.६१ प्रतिशत जनसङ्ख्या रहेको छ । त्यो भनेको तराई क्षेत्रमा मात्रै १ करोड ५६ लाख ३४ हजार छजनाको बसोबास रहेको छ । पहाडमा ४० दशमलव ३१ प्रतिशत अर्थात् एक करोड १७ लाख ५७ हजार ६ सय २४ बराबरको बसोबास छ । हिमाली क्षेत्रमा ६.०८ प्रतिशत अर्थात् १७ लाख ७२ हजार ९ सय ४८ को बसोबास छ ।

    दश वर्षपहिले तराईमा ५०.२७ प्रतिशत, पहाडमा ४३ दशमलव ०१ प्रतिशत र हिमाली क्षेत्रमा ६.७३ प्रतिशत जनसङ्ख्याको बसोबास थियो । अक्सर हाल बसोबास गरिरहेका गाउँपालिका र नगरपालिकाबाट अर्को स्थानमा कहिल्यै बसाबोस नगरेका व्यक्तिहरु ६८ प्रतिशत छन् । 

    कूल जनसङ्ख्याको १०.८ प्रतिशत व्यक्तिले यसअघि बसोबास गरेको स्थानबाट अर्को गाउँपालिका वा नगरपालिकामा बसाइँसराइ गरेका छन् । १८ दशमलव दुई प्रतिशत जनसङ्ख्या अर्को जिल्लामा र ३.१ प्रतिशत बराबर जनसङ्ख्या भने विदेश पलायन भएको छ । कूल ९३ लाख ४१ हजार ४ सय ८ जनाले बसाइँसराइ गरेको पाइएको छ ।

    यसअघिको बसोबास गरेको स्थानबाट बसाइँसराइ गर्नुको खास कारण भने काम रोजगारी, व्यापार–व्यवसाय, अध्ययन, तालिम, आश्रित, प्राकृतिक प्रकोप, कृषिलगायत छन् ।

    परम्परागत ऊर्जामा नै आश्रित

    सरकारले स्वच्छ ऊर्जाको विकास र विस्तारमा जोड दिएको भए पनि खाना पकाउनका लागि अझै पनि परम्परागत ऊर्जामा निर्धर रहने जनसङ्ख्याको हिस्सा ठूलो रहेको छ । देशका कूल परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन काठदाउरा प्रयोग गर्ने गरेका छन् । खान पकाउन एलपी ग्यासका प्रयोग गर्नेहरु ४४ दशमलव तीन प्रतिशत बराबर छन् । 

    बिजुलीको प्रयोग गर्ने शून्य दशमलव पाँच, गुइँठा प्रयोग गर्ने दुई दशमलव नौ, बायोग्यास प्रयोग गर्ने एक दशमलव दुई, मट्टीतेल प्रयोग गर्ने शून्य दशमलव शून्य पाँच र अन्य इन्धनको प्रयोग गर्नेहरु शून्य दशमलव एक प्रतिशत बराबर छन् । दश वर्षपहिले ६४ प्रतिशतले खाना पकाउन अक्सर दाउराको प्रयोग गर्ने गरेका थिए । यसमा केही कमी आए पनि अझै परम्परागत ऊर्जामा आश्रित हुनेको सङ्ख्या आधारभन्दा बढी रहेको छ ।

    बिजुली विस्तारमा फड्को

    सबै घरपरिवारमा  बिजुली पुर्याउने सरकारको लक्ष्य क्रमशः पूरा हुने चरणमा पुगेको छ । कूल ९२ दशमलव दुई प्रतिशत घरपरिवारमा बत्ती बाल्नका लागि बिजुलीको प्रयोग भएको पाइएको छ । आफू बसोबास गरेको घर तथा आवासीय इकाइमा बत्ती बाल्न मानिसले बिजुली प्रयोग गरेका छन् ।

    दश वर्षपहिले बिजुली प्रयोग गर्ने परिवार मात्रै ६७.३ प्रतिशत मात्रै थिए । बत्ती बाल्न सोलार, सौर्य ऊर्जा प्रयोग गर्ने परिवार ६.६ प्रतिशत छन् । यस आधारमा हेर्दा स्वच्छ ऊर्जाको पहुँच ९८.८ प्रतिशत बराबर हुन पुगेको । मट्टीतेल र अन्य इन्धन प्रयोग गर्ने परिवार एक प्रतिशतभन्दा कम रहेको छ ।


    images
    images

    Logo