काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ । चार वर्ष पुरानो मानहानीको घटनालाई लिएर कांग्रेस नेता गान्धीविरुद्ध भएको सजायको एक दिनपछि शुक्रबार उनको लोकसभाको सदस्यता खारेज गरेको हो ।
गान्धी केरलाको वाडनाड लोकसभा सिटमा निर्वाचित भएका थिए । भारतीय संविधानको धारा १०२ (१) र १९१ (१) मा यदि संसद वा विधानसभाको कुनै पनि सदस्यले मानसिक रुपमा अस्वस्थ भए वा वैध भारतीय नागरिक रहेनन् भने उसको सदस्यता रद्द हुन्छ । अयोग्यताको अर्को नियम संविधानको दशौं अनुसूचीमा छ, जसमा दलबदलका आधारमा सदस्यलाई अयोग्य ठहर गर्ने व्यवस्थामा छ ।
गत विहीबार गान्धीलाई सुरतको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गदै २ बर्षको सजाय सुनाएको थियो ।अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ । तर उनलाई फैसलाविरुद्ध अदालतमा अपिल गर्नका लागि एक महिनाको समय दिइएको छ ।



