काठमाडौं । गण्डकी प्रदेशमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुलाई सरकारबाट बाहिरिन निर्देशन दिएसंगै माओवादीले समर्थन फिर्ता लिन लागेको हो ।
आज बिहान संसदीय दलको बैठक बसेर सरकार छोड्ने निर्णय गरिने माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । गण्डकीमा चुमानको नेतृत्वमा माओवादी केन्द्र गत पुस २५ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको थियो ।
उनका अनुसार संसदीय दलले मन्त्रीको राजीनामा बुझाउने निर्णय गर्नेछ । वर्तमान सरकारमा माओवादीबाट चुमान भौतिक पूर्वाधार विकासमन्त्री र रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । माओवादीले सरकार छोडेपछि मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा पर्नेछन् ।
संविधानअनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । नयाँ सत्ता गठबन्धनबाट गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी गरिरहेका छन् ।



