भक्तपुर । भक्तपुर अस्पतालले मानिसमा नसर्ने रोगको पहिचान गर्ने लक्ष्यका साथ ३० वर्ष माथिका नागरिकका लागि निःशुल्क होलबडी स्वास्थ्य परीक्षण सेवा सुरु गरेको छ । बागमती प्रदेश सरकारले लागू गरेको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम लागू गर्दै अस्पतालले ३० वर्ष माथिका नागरिक जसले अहिलेसम्म स्वास्थ्य परीक्षण नगराएका तथा कुनै पनि रोग लागेको छ वा छैन भन्ने थाहा नपाएका व्यक्तिलाई शरीरका बिभिन्न अंगमा हुनसक्ने रोगको परीक्षण निःशुल्क गरिने भएको हो ।
भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सुमित्रा गौतमले वाग्मती प्रदेश सरकारको ल्याएको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम भक्तपुर अस्पतालमा लागू भएको भन्दै यो प्रदेशको गौरबको कार्यक्रम भएकाले यसबाट स्वास्थ्य परीक्षणका लागि अस्पतालनै नआएका व्यक्तिले सहज लाभ लिन सक्ने बताए ।
उनले भने, “रोगको पहिचान गर्ने लक्ष्यका साथ लागू भएको यस कार्यक्रममा ३० वर्ष उमेर माथिका वाग्मती प्रदेश भित्रका नागरिकले सेवा लिन पाउनेछन् । यसअघि कुनै पनि रोगको स्वास्थ्य परीक्षण नगराएको र आफ्नो शरीरमा कुनै रोग लागेको छ की छैन भन्ने पहिचान नभएका व्यक्तिले यो निःशुल्क सेवाबाट आफ्नो होलबडी चेकअप गर्न सक्नेछन् ।”
यसका लागि वाग्मती प्रदेश सरकारले अस्पताललाई २५ लाख रुपैया रुपैयाँँ उपलब्ध गराएको छ । अस्पतालले एक दिनमा बढीमा १० जनासम्मको स्वास्थ्य परीक्षण गर्न सक्ने गरि व्यबस्थापन गरेको उनले जानकारी दिए । यो सेवा लिन जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहको सिफारिसमा अस्पतालले वाग्मती प्रदेश भित्रका बासिन्दालाई यो निःशुल्क स्वाथ्य परीक्षण सेवा उपलब्ध गराउने भएको छ ।
निजी अस्पताल वा क्लिनिकमा हुने होलबडी चेकअपमा १ लाख रुपैयाँसम्म शुल्क असुल्ने गरेको सेवा अस्पतालले निःशुल्क दिन सुरु गरेको भन्दै अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले यो सेवाबाट लाभ लिन वाग्मती प्रदेशका बासिन्दालाई आव्हान गरे ।
भक्तपुर अस्पतानलले प्रदेश सरकारको सहयोगमा नसर्ने रोग पहिचानका लागि स्वास्थ्य परीक्षण, परामर्श र व्यवस्थापनअन्तर्गत प्यालिएटिभ तथा ज्येष्ठ नागरिक वार्डसमेत स्थापना गरेर सेवा बिस्तार गरेको उहाँले जानकारी दिए ।
प्रदेश सरकारको १५ लाख रुपैयाँको सहयोगमा हाल दुई शैय्या सञ्चालनमा रहेको प्यालिएटिभ केयर सेवा ५ शय्यामा विस्तार गरिने जानकारी दिदै उनले क्यान्सर रोग लागेर अन्तिम अबस्थामा पुगेका विरामीका लागि यो सेवा सञ्चालन गरिएको बताए । जेष्ठ नागरिकको उपचारका लागि प्रदेश सरकारकै थप १५ लाख रुपैयाँको सहयोगमा पाँच शय्याको निःशुल्क स्वास्थ्य उपचार सेवा सञ्चालन गरेको मेसु डा. गौतमले जानकारी दिए ।
उनका अनुसार अस्पतालले अल्जाइमर अर्थात बिर्सने रोगको निःशुल्क उपचार सेवा सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीले सर्वसाधारणमा बढेको भय तथा त्रासले अल्जाइमरका रोगी बढेकाले अस्पतालले सञ्चालन गरेको अल्जाइमर क्लिनिकमा मनोचिकित्सक डा. सुप्रिया शेरचनसहितको न्यूरो तथा ज्येष्ठ नागरिकका लागि चिकित्सकसहितको सेवा प्रत्येक दिन बिहान ९ः०० देखि २ः०० बजेसम्म सञ्चालन गरेको छ । अस्पतालले प्रत्येक बुधबार पाटन अस्पतालका जेष्ठ नागरिक एवं मनोरोग विशेषज्ञ डा. निदेश सापकोटाबाट विशेषज्ञ सेवा समेत सुरु गरेको हो ।
अस्पतालले नियमित न्यूरो ओपिडी सेवा सुरु गरेको छ । पाटन अस्पतालका नसा रोग बिभागका प्रमुख एवं बिशेषज्ञ चिकित्सक डा.प्रकाश बिष्टले भक्तपुर अस्पतालबाट सेवा दिन सुरु गरेको जानकारी दिदै उहाँले न्युरो सर्जरी सेवा समेत बिस्तार गरेको बताए । कार्डियो अर्थात मुटु सेवा सञ्चालनमा ल्याएको अस्पतालमा १६ शय्याको आइसियुमा सधै बिरामीको चाप रहेको जानकारी दिए ।
यहाँबाट रिफर भएर गएका महिलाले यसको शल्यक्रियाका लागि मोडल अस्पताल काठमाडौंमा निःशुल्क उपचार सेवा पाउने मेसु डा. गौतमले जानकारी दिए । त्यस्तै मस्तिष्कघात भएका बिरामीलाई भक्तपुर अस्पतालले मनोमोहन वा बीर अस्पतालमा रिफर गरेपछि त्यहाँ हुने शल्यक्रियामा २ लाख रुपैयाँसम्मको उपचार सेवा निःशुल्क हुने व्यबस्था गरेको छ ।
त्यस्तै भक्तपुर अस्पतालमा उपचारमा आएका बिरामीलाई ह्दयघात भएको पहिचान गरि उपचारका लागि गंगालाल अस्पतालमा रिफर गरे १ लाख ८० हजार रुपैयाँ बराबरको उपचार निःशुल्क हुने व्यबस्था प्रदेश सरकारको सहयोगमा सुरु गरेको मेसु डा. गौतमले बताए ।
भक्तपुर अस्पतालले २४ सै घण्टा सञ्ञचालन गरेको ईसिजी सेवाबाट ह्दयघातको पहिचान गरेर अस्पतालमा नयाँ ल्याएको सुबिधा सम्पन्न स्वास्थ्यकर्मी समेत रहने एम्बुलेन्समा बिरामीलाई गंगालाल अस्पताल पुर्याउने व्यबस्थासमेत अस्पतालले गरेको उनले जानकारी दिए ।
केही वर्ष अगाडिसम्म उपचार नगरेर निजी अस्पतालमा विरामी रेफर गर्ने केन्द्र बन्दै आएको अस्पताल मेसु डा. गौतम आएपछि भने अस्पताल सुधार एवं सेवा बिस्तार गर्दा अहिले दैनिक ७ सय ५० देखि ८ सय सम्म बिरामी उपचारका लागि आउने गरेको अस्पताल बिकास समितिका अध्यक्ष कायस्थले जानकारी दिए ।
उनले भने, “अस्पतालमा मेसु डा. गौतमले धेरै सुधार गरेसँगै बिरामीको चाप निकै बढेको छ, पछिल्लो समय प्रसुतिलगायतका ठुला सर्जरीहरु अस्पतालमै हुन थालेपछि भर्ना भएर उपचार गराउँनेको संख्या बढेको छ ।”
कायस्थका अनुसार, पछिल्लो समय मुटु, कान, नसारोग लगायतका सेवा बिस्तार गरिएका कारण पनि बिरामीको चाप बढेर गएको हो । अस्पतालमा विरामीको उपचारमा लापरवाही गर्ने तथा तोकिएको केही वर्ष अगाडिसम्म सामान्य रोगको शल्यक्रियासमेत नहुने यस अस्पतालमा अहिले दैनिक १० वटासम्म शल्यक्रिया हुने गरेको उनले बताए ।



