images
images

वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा

न्यूनतम तलबको २१.३३ प्रतिशत कोषमा जम्मा गर्नुपर्ने


  • 231
    SHARES
  • २०७९ चैत्र ८ गते बुधबार

    वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा

    काठमाडौं । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको छ । कोषले आज एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा सूचीकरणको काम सुरु भएको घोषणा गरेका हुन् । 

    वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएको कोषले जनाएको छ ।

    वैदेशिक रोजगारमा रहेका वा विदेशमा स्वरोजगार रहेका नागरिकले कम्तिमा नेपाल सरकारवाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात हाल न्यूनतम रु दुई हजार दुई सय मासिक रुपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणा सम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन् ।

    कार्यविधिले नियमित रुपमा योगदान गर्ने योगदानकर्ताहरुलाई दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजनाहरु संचालनमा ल्याएको छ। 

    नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु वा विदेशमा रहि पुनः श्रम स्वीकृति लिन चाहने व्यक्तिहरुका लागि वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिका लागि कार्यान्वयनमा रहेको अनलाइन प्रणालीबाटै सामाजिक सुरक्षा योजनामा आवद्ध हुने व्यवस्था गरिएको छ ।

     यसका साथै श्रम स्वीकृति लिएर विदेशमा काम गर्दै गरेका व्यक्तिहरुले कोषको वेभसाइटमार्फत सूचिकृत हुन सक्ने व्यवस्था गरिएको छ।सूचीकरण तथा योगदान रकम संकलन लगायतका कार्यमा सहजीकरण गर्नको लागि चौबिसै घण्टा खुल्ला रहने गरि कोषको कल सेन्टर र सामाजिक सञ्जालहरुको व्यवस्था गरिएको छ। 

    यसका अतिरिक्त गैर आवासीय नेपालीहरुको संस्था र कोषबीच सहकार्यका लागि सम्झौता भईसकेकाले ८० भन्दा बढी मुलुकमा भएका यस संस्थाको सञ्जालहरुबाट समेत आवश्यक सहयोगको प्रतिवद्धता समेत प्राप्त भएकाले कोषमा आवद्ध हुन थप सहजीकरण हुनेछ । 

    विदेशमा रहेर पनि नेपालमा रहेको बैंक खातामार्फत योगदान रकम संकलन गर्न सक्ने र नेपाली बैंक तथा रेमिट्यान्सका विदेश स्थित कार्यालयहरुवाट योगदान रकम संकलनमा सहयोगका लागि पहल भइरहेको छ। 

    वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबैको लागि हुने गरी व्यापकता प्राप्त गर्ने विश्वास कोषले लिएको छ । 


    images
    images

    Logo