काठमाडौं । ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । भे १ ख २२०१ नम्बरको ट्रक दैलेखमा दुर्घटना भएको हो ।
बुधबार बिहान करिब साढे ८ बजेर गुराँस गाउँपालिका–४, तालपोखरीमा सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले बताए।
लम्सालका अनुसार, ट्रकमा सवार चारमध्ये तीनजनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । ट्रक सडकदेखि करिव १५० मिटर तल अर्को सडकमा खसेको जनाइएको छ ।
सडकमा ‘साइड’ लगाएर ओट लगाउने क्रममा ट्रक खोल्सामा खसेको थियो । दुर्घटनामा चालकसहित तीनजनाको मृत्यु भएको र सहचालक सकुशल रहेको जनाइएको छ ।
मृत्युु हुनेमा चालक बाँकेका ३० वर्षीय कृष्ण चौधरी र कामदारहरू लक्ष्यीराम चौधरी र विष्णु चौधरी रहेको छ । डीएसपी लम्सालका अनुसार ट्रकमा खाना पकाउने ग्यास भरिएका सिलिन्डर थिए ।



