काठमाडौं । स्थानीय तहको निर्वाचनपछिको पहिलो बर्ष विधि र प्रणाली सुधारलाई प्राथमिकतामा राखेर काम भइरहेको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छिन् । ‘काठमाडौंले बचाइ राख्नुपर्ने मौलिकता, जोगाइ राख्नु पर्ने सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचानसँग जनताका बदलिँदा प्रविधि तथा भौतिक विकासका बिचमा सन्तलुन गर्न विधि, पद्धति र प्रणाली बलियो हुनुपर्छ ।’ डंगोल भन्छिन्, ‘संविधान, संघिय तथा प्रादेशिक कानुनले स्थानीय तहलाई दिएका अधिकारलाई नागरिकको चाहना बमोजिम उपयोग गर्छौँ ।’
उपप्रमुखलाई प्राप्त अधिकारमध्ये न्यायिक निरुपणका कार्यलाई वडास्तरीय मेलमिलाप केन्द्रमार्फत जनताका आँगनमै पु¥याउने काम भइरहेको छ । घरायसी समस्या तथा घरेलु हिंसा लगायत सामान्य विवाद सुन्न वडामा महिला सञ्जाल गठन गरिएको छ । यो सञ्जालले महिला र पुरुष दुवैका कुरा सुन्छ । राजस्व परामर्श समितिमा राजस्व प्रशासन, राजस्वको दर र दायराका विषयमा विज्ञ तथा नागरिकको अपेक्षा अध्ययन गरिरहेको छ । आगामी बर्षमा नयाँ कार्यक्रम तर्जुमा गर्नका लागि बजेट तर्जुमा समितिको क्रियाशीलता बढाइएको छ । उपप्रमुख डंगोलले भनिन्, आफ्ना पीर, गुनासा, समस्या सुनाउन जनप्रतिनिधिको कार्यकक्षमा आउनु, नभेटेर धाउनु नपरोस् । यसका लागि उहाँहरुलाई उहाँकै ठाउँमा भेट्ने र कुरा सुन्ने कामलाई प्राथमिकता दिएकी छु ।
न्यायिक समिति राष्ट्रिय सम्मेलनको तयारीमा काम भइरहेको जानकारी गराउँदै उनले, यसको नेतृत्व काठमाडौं महानगरले गरे पनि उपत्यकाका सबै पालिकाको साझा आयोजना भएकोले सबैको अपनत्व रहने उल्लेख गरिन् । यसलाई संस्थागत र दिगो बनाउने कुरा सवै पक्षबाट साथ प्राप्त गर्ने उनको अपेक्षा छ ।



