अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जसीले ९ हजार कर्मचारी कटौती गर्ने कम्पनीको योजना सोमबार घोषणा गरेका हुन् ।
एक ब्लग पोस्टमा उनले कर्मचारी कटौतीबाट कम्पनीको क्लाउड सेवा, विज्ञापन र ट्विच एकाइमा असर पर्ने उल्लेख गरेका छन् । यसअघि अमेजनले १८ हजार कर्मचारी जागिर कटौती गर्ने घोषणा गरेको थियो ।
कुन विभागका कर्मचारी कटौतीमा पर्ने भन्ने निर्णय भइनसकको जनाउँदै एन्डीले आगामी एप्रिलको मधयसम्ममा निर्णय कार्यान्वयन हुने बताएका छन् । अमेजन विश्वको सबैभन्दा ठूलो रोजगारदाता कम्पनी मध्येको एक हो । विश्वभर १५ लाख मानिसलाई रोजगारी दिने फर्मले यस भन्दा पहिले १८ हजार कर्मचारीहरुलाई हटाइसकेको छ । अव थप ९ हजार कर्मचारी हटाउने भएको हो ।
जसका कारण हालैका महिनाहरुमा अमेरिकी कर्पोरेटहरुले ठूलो संख्यामा रोजगारी कटौती गरेका छन् । साथै, कर्मचारी कटौतीको क्रम जारी नै रहेको छ । सन् २०२२ को सुरुवातयता प्रविधि कम्पनीहरुले मात्रै २ लाख ९० हजार भन्दा बढी कामदारहरुलाई कामबाट हटाएको एक तथ्यांकले देखाएको छ ।



