images
images

नापतौलको अनुगमन : ठगी गर्ने करिब ८ हजार व्यापारीलाई कारबाही


  • 233
    SHARES
  • २०७९ चैत्र ६ गते सोमबार

    नापतौलको अनुगमन : ठगी गर्ने करिब ८ हजार व्यापारीलाई कारबाही

    काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ ।

    कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमितरुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गर्ने झण्डै आठ हजार व्यापारीलाई कारबाही गरेको हो । पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको सो कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले जानकारी दिए । उनले भने, “अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ । ” 

    सो कार्यालयले फागुन महिनासम्म दुई हजार ७५ व्यापारीलाई नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोेग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरणसमेत गरेको छ । सीमित स्रोत र साधनबीच बजार अनुगमनको कार्यलाई तीव्रता दिएको सो कार्यालयले नापतौलसम्बन्धी उपभोक्ता हक, हित संरक्षणका लागि एक सय २५ पटक एकल अनुगमन र एक सय १६ पटक संयुक्तरुपमा बजार अनुगमन गरेको सूचना अधिकारी पुडासैनीले बताए ।

    चालु आवको आठ महिनामा सो कार्यालयबाट पाँच हजार आठ सय ६९ व्यापारीले नापतौल तथा नाप्ने तौलने यन्त्र जाँच गरेका छन् । यस्तै, च चार सय १५ पेट्रोलियम पदार्थ वितरण पम्प जाँच, ७९ भेहिकल टैङ्क जाँच, पाँच हजार ७० ट्याक्सीको मिटर जाँच गरेको छ ।

    कार्यालयका प्रमुख राकेशकुमार झा जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले नापतौल कार्यालयले कारबाहीलाई प्राथमिकता दिएको बताउनुहुन्छ । “नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउँछौँ”, उनले भने ।

    सो कार्यालयले चालु आवको आठ महिनामा एक करोड ३५ लाख ६३ हजार छ सय ७९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

    सो कार्यालयले हाल काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन र गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ । 


    images
    images

    Logo