काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारको प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदै छन् । नेकपा एमाले र राष्ट्रीय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।
संविधानको धारा १०० ९२० मा प्रधानमन्त्रीलाई समर्थन गर्ने दल विभाजित भए वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र प्रतिनिधि सभाबाट प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने उल्लेख छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि २६ पुसमा संसद्को विश्वास लिएका थिए ।
प्रचण्डलाई १० दलीय गठबन्धनका नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आमजनता पार्टीले विश्वासको मत दिने निश्चित छ। प्रतिनिधि सभामा कांग्रेसका ८६, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, जसपाका १३, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, स्वतन्त्र सांसद २, आमजनता पार्टी तथा जनमोर्चाका एक(एक जना सांसद रहेका छन् ।



