काठमाडौं । कोसी प्रदेश नामकरण भएको विरोधमा पहिचान पक्षधरहरूले प्रदर्शन गर्ने भएपछि विराटनगरका मुख्य ५ स्थानमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको हो ।
आज आइतरबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा कुनै किसिमको सभा, जुलुश, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
प्रशासनले प्रदेशसभा (पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म), कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म) , मुख्यमन्त्री निवासको ३०० मिटर वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास तथा जिल्ला प्रशासन कार्यालय मोरङ आसपास निषेधित क्षेत्र घोषणा गरेको हो । पहिचानको मागलाई सम्बोधन नगरी प्रदेशको नाम कोशी राखेको विरोधमा प्रदेश १ मा प्रदर्शन भइरहेको छ ।
पहिचान पक्षधरहरूले सरकारले पर्याप्त छलफल नै नगरी प्रदेश सभाबाट दुईतिहाइ बहुमतबाट प्रदेशको नाम कोसी टुंगो लगाएर छल गरेको भन्दै विरोध गर्दै आइरहेका छन् । प्रदेश सभाबाट १७ पुसमा दुईतिहाइभन्दा बढी मतले कोसी प्रदेशको नाम टुंगो लागेको थियो ।



