images
images

लागुऔषधको जालो भत्काउँदै प्रहरी : ७ सय १३ पक्राउ


  • 216
    SHARES
  • २०७९ चैत्र ४ गते शनिबार

    लागुऔषधको जालो भत्काउँदै प्रहरी : ७ सय १३ पक्राउ

    काठमाडौं ।  कञ्चनपुर प्रहरीले लागुऔषध ओसारपसार, प्रयोग र दुव्र्यसनमा रहेका ७ सय १३ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ ।

    सुदूरपश्चिम प्रदेशमै लागुऔषध कारोबारको अखडा बन्दै गएको कञ्चनपुरमा प्रहरीले पनि न्यूनीकरण र संलग्नता भएका व्यक्तिलाई कारबाहीका लागि जिल्लाभर सक्रियता देखाएको छ । 

    संलग्नलाई कारबाहीदेखि युवापुस्ता, विद्यार्थी र अभिभावकलाई लागुऔषध नियन्त्रणका लागि सचेतना कक्षासमेत यहाँका सबै पालिकामा सञ्चालन गरिरहेको प्रहरीले खुला सीमानाका भएका कारण लागुऔषधको कारोबार बढेको औँल्याएको छ ।

    आर्थिक वर्ष २०७६/७७ यता मात्रै लागुऔषध मुद्दामा प्रहरीले ७ सय १३ जनालाई नियन्त्रणमा लिइ कारबाही प्रक्रियामा ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक भरतराज गिरीले जिल्लाभरि नै लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढिरहेको बताए ।

    “लागुऔषध ओसारपसार र दुव्र्यसनमा संलग्नलाई प्रहरीले एकपछि अर्को गरी दिनहुँजसो कारबाहीको दायरामा ल्याइरहेको छ”, प्रहरी निरीक्षक गिरीले भने, “यसको नियन्त्रणका लागि सीमानाकादेखि सबैतिर विभिन्न युनिटमा प्रहरी परिचालित छ ।”

    उनले प्रहरी सक्रियताकै कारण ओसारपसारमा संलग्न पक्राउ पर्नेक्रम पनि बढेको बताए । झन्डै एक दशकअघि यहाँ चरेशलगायतका लागुऔषधको कारोबार हुने गरेका घटना बाहिरिने गरेको भए पनि पछिल्ला वर्षमा खैरो हेरोइनको कारोबार ह्वात्तै बढेको छ ।

    प्रहरीले दिएको जानकारीअनुसार चालु आर्थिक बर्षमा यहाँ लागुऔषध मुद्दामा १ सय ५७ जना पक्राउ परेका छन् । त्यसमा १ सय ४८ नेपाली र नौ भारतीय नागरिक रहेका छन् । चालु आर्थिक बर्षको फागुन मसान्तसम्म लागुऔषधसम्बन्धी ८८ मुद्दा दर्ता भएका छन् । प्रहरीले सो अवधिमा २६ किलो चरेश, ४ सय १३ दशमलव ६० ग्राम खैरो हेरोइन, नाइट्राभेट, फेनारगन, एम्पुल, रेक्सोजेसिक, डाइजापाम लगायतका लागुऔषध बरामद गरेको छ ।

    त्यसैगरी प्रहरीले गत आर्थिक बर्ष २०७८/७९ मा लागुऔषधसम्बन्धी एक सय ४३ मुद्दा दर्ता गरेको थियो । त्यसमा २ सय २६ नेपाली र १३ भारतीय नागरिक गरी २ सय ३९ जनालाई पक्राउ गरिएको थियो । गत आर्थिक बर्षमा प्रहरीले यहाँ ३३ किलो ९ सय ८५ ग्राम चरेश, ५ सय ८० दशमलव शून्य ६० ग्राम खैरो हेरोइन लगायतको लागुऔषधसमेत अभियुक्तबाट बरामद गरेको थियो ।

    यहाँ पछिल्लो समय खुला सीमानाका कारण भारतका विभिन्न ठाउँबाट खैरो हेरोइन बढी मात्रामा आयात हुने गरेको छ । खुला सीमानाका लागुऔषध ओसारपसारमा भारतीय सुरक्षा निकायको बेवास्ता लगायतले यहाँ प्रहरीका लागि यसको नियन्त्रण मुख्य चुनौती बनेको हो ।

    कञ्चनपुरका सीमानाकाबाट लुकीछिपी आयात हुने गरेको खैरो हेरोइन सुदूरपश्चिमका पहाडी जिल्लामा समेत जाने गरेको विगतका घटनाक्रममा देखिएको प्रहरीकै भनाइ छ । लागुऔषध न्यूनीकरणका लागि भन्दै प्रहरीले यहाँका विभिन्न विद्यालय, सार्वजनिक स्थानमा सचेतना कक्षा सञ्चालन गर्दै आएको छ । 
     
    पछिल्लो समय जिल्ला प्रहरी कार्यालयको नेतृत्व तह नै लागुऔषधसम्बन्धी सचेतना कक्षा सञ्चालनमा सक्रिय छ । प्रहरीले लागुऔषध सवेनकर्ताबाट समाजमा अन्य आपराधिक क्रियाकलाप बढी हुने गरेको दाबीसमेत गरेको छ । 

    त्यस्तै यहाँ २०७७÷७८ मा लागुऔषधसम्बन्धी १ सय ४१ मुद्दा दर्ता भई २ सय ३० जना पक्राउ परेका थिए । सोही आवयता लागुऔषध कारोबार र सेवनकर्ताको बिगबिगी बढेको प्रहरी रेकर्डले पनि देखाएको छ । आर्थिक बर्ष २०७६/७७ मा लागुऔषधका ५५ मुद्दामा ८७ जना मात्रै पक्राउ परेको तथ्याङ्क छ । उक्त आवमा खैरो हेरोइन प्रहरीले ६३ ग्राम बरामद गरेको थियो ।

    चालु आर्थिक बर्षको फागुनसम्म मात्रै प्रहरीले चार सय १४ दशमलव ६० ग्राम खैरो हेरोइन बरामद गरिसकेको छ । यहाँ सबैभन्दा बढी बेलौरी, पुर्नर्वास, बेल्डाँडी, शुक्लाफाँटा र दोधारा चाँदनी नगरपालिकामा यसको कारोबार बढी हुने गरेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले लागुऔषध नियन्त्रण र सचेतनाका लागि टोलसम्म सक्रिय हुने गरी क्लबलगायतका संरचनाको परिकल्पना गरेर अघि बढ्ने योजना रहेको बताए । 

    “तल्लो तहसम्म यसका लागि छुट्टै खालको संरचना भए अझ बढी प्रभावकारी हुन्छ”, उनले भने, “छुट्टै संरचना बनाएर स्थानीय सरकार र प्रहरीबीचको समन्वयमा लागुऔषध दुव्र्यसन नियन्त्रणको प्रयास गर्नुपर्ने आवश्यकता छ ।” उनले भारतबाट बढी मात्रामा लागुऔषध आयात हुने भएकाले नेपाल–भारत संयुक्त सुरक्षालगायतका बैठकमा यो एजेण्डा प्राथमिकताका साथ राखिने बताए ।


    images
    images

    Logo