images
images

स्ववियु निर्वाचन : चार क्याम्पसमा विद्युतीय मतदान


  • 273
    SHARES
  • २०७९ चैत्र ४ गते शनिबार

    स्ववियु निर्वाचन : चार क्याम्पसमा विद्युतीय मतदान

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । 

    त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा पशुपति अधिकारीले जानकारी दिए ।

    ती सबै क्याम्पसमा रामलक्ष्मण इनोभेसन प्रालिका विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ । रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले विद्युतीय मतदानका लागि सबै तयारी पूरा गरिएको जानकारी दिए । 

    उनका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १६, पुल्चोक इञ्जिनीयरिङमा १४, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पसमा १२÷१२ विद्युतीय मेसिन प्रयोग गरिनेछ । 

    उनले चार क्याम्पसमा मतपरिणाम सोही दिन सार्वजनिकसमेत हुने बताए । त्रिवि क्याम्पसमा ६२, पुल्चोक क्याम्पसमा ५८, थापाथली क्याम्पसमा ४१ र पूर्वाञ्चल क्याम्पसमा ४५ जना प्रत्यक्षतर्फका उम्मेदवार छन् । त्रिवि केन्द्रीय क्याम्पसमा ३ हजार ३ सय ३९, थापाथली क्याम्पसमा १ हजार ७ सय ५०, पुल्चोक क्याम्पसमा २ हजार ६ सय ९९ र धरानमा १ हजार ९ सय ४१ मतदाता छन् । 

    स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुँदैछन् । 

    रामलक्ष्मण इनोभेसनका सञ्चालक रिमालले विद्युतीय मेसिनमा मतदाताले पहिले प्रत्यक्ष मतदान गरिसकेपछि समानुपातिकका लागि मतदान हुने बताए। 

    उनका अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य तथा समानुपातिक गरी पाँच मतपत्र हुनेछन् । बिहान ८ देखि अपराह्न ४ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । 

     


    images
    images

    Logo