images
images

विदेशी लगानी ३८ प्रतिशतले घट्यो


  • 436
    SHARES
  • २०७९ चैत्र ४ गते शनिबार

    विदेशी लगानी ३८ प्रतिशतले घट्यो

    काठमाडौं । मुलुकमा आउने प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३८ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको आठ महिना (साउन–फागुन)सम्म प्रत्यक्ष वैदेशिक लगानी ३७.९३ प्रतिशतले घटेको हो । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य कमी आएको हो । 

    उद्योग विभागका अनुसार यो ८ महिनामा १ सय ५९ परियोजनामार्फत २० अर्ब ५६ करोड २३ लाख रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । अघिल्लो वर्ष सो अवधिमा ३३ अर्ब १२ करोड ६६ लाख रुपियाँको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष १२ अर्ब  ५६ करोड ६५ लाख रुपियाँ कमी हो । 

    १५९ वटा परियोजना

    यो वर्ष १५९ वटा परियोजनामा १३४ वटा साना उद्योग, २२ वटा मझौला र ३ वटा ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । ती परियोजनामार्फत ९ हजार ४ सय ७८ जनाले रोजगारी पाउने अनुमान गरिएको छ । 

    ८ महिनामा विदेशी लगानी प्रतिबद्धतामा सबभन्दा धेरै सेवामूलक परियोजनामा ७४.४४ प्रतिशत, पर्यटनमूलक परियोजनामा ६१.३८ प्रतिशत, उत्पादनमूलकमा १६ प्रतिशत, सूचना प्रविधिमा ७.५ प्रतिशत र पूर्वाधारमा ५.३ प्रतिशत रहेको विभागले जनाएको छ । खनिज, ऊर्जा र कृषिमा आधारित परियोजनामा लगानी प्रतिबद्धता नआएको विभागको तथ्याङ्क छ । 

    विभागका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा मात्र २ अर्ब ६४ करोड ९ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । भदौ महिनामा ३ अर्ब ४४ करोड ६५ लाख रुपैयाँको लगानी प्रतिवद्धता भएको छ । 

    यस्तै असोज महिनामा १ अर्ब ८५ करोड ४७ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । कात्तिक महिनामा ३ अर्ब ६५ करोड रुपैयाँ, मङ्सिर महिनामा ८० करोड ८ लाख रुपैयाँ प्रतिबद्धता आएको छ । 

    विभागका अनुसार पुस महिनामा ४ अर्ब ८५ करोड २० लाख रुपैयाँ, माघ महिनामा १ अर्ब ३९ करोड रुपैयाँ र फागुन महिनामा १ अर्ब ९२ करोड २९ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

    विभागका अनुसार आर्थिक बर्ष २०७८/७९ मा साउनमा महिना ५ अर्ब ५३ करोड ५० लाख, भदौ महिनामा ६ अर्ब ३२ करोड, असोज महिनामा ११ अर्ब ९६ करोड ५ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यस्तै कात्तिक महिनामा ९८ करोड, मङ्सिर महिनामा ५ अर्ब १५ करोड ५१ लाख, पुस महिनामा ६१ करोड २० लाख, माघ महिनामा ५३ करोड ९५ लाख र फागुन महिनामा २ अर्ब २३ करोड रुपियाँ प्रतिबद्धता आएको थियो । 

    विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीले विश्व अर्थमन्त्रमा देखा परेको सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता घटेको बताए। रुस–युक्रेन युद्धपछि विश्वका धेरै मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेका कारण नेपालमा पनि वैदेशिक लगानीमा असर देखिएको उनको भनाइ छ । 


    images
    images

    Logo