काठमाडौं । लगानी बोर्डले भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई ४५० मेगावाटको सेती नदी–६ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र दिएको छ । बोर्डले डोटी र अछाम जिल्लामा निर्माण हुने आयोजनाको अनुमतिपत्र जारी गरेको हो ।
बिहीबार बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले एनएचपीसीका उपमहानिर्देशक अशोककुमार जोशीलाई अनुमतिपत्र हस्तान्तरण गरेका हुन् ।
बोर्डले ३ महिनाभित्र आयोजना अध्ययन गरी प्रारम्भिक प्रतिवेदन र २१ महिनाभित्र विस्तृत आयोजनाको प्रतिवेदन बुझाउनुपर्ने गरी अनुमति प्रदान गरेको हो । कम्पनीले सेती नदी–६ सँगै ७५० मेगावाटको पश्चिम सेती पनि अघि बढाएको छ ।
माथिल्लो तटीय आयोजनाका रूपमा पश्चिम सेती र तल्लो तटीय आयोजनाका रूपमा सेती नदी–६ सँगसँगै निर्माण भए कुल १२ सय मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन हुनेछ । लगानी बोर्ड र एनएचपीसीबीच गत भदौ २ गते निर्माण सम्झौता भएको थियो ।



