काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै छ । आज १० बजेबाट नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सो निर्वाचन हुने भएको हो ।
१० बजेदेखि दिउँसो ३ बजेसम्म हुने उक्त निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्यले मतदान गर्नेछन् । संघीय संसद्का ३ सय ३२ र प्रदेश सभाका ५ सय ५० मतदाता रहेका छन् तर मतभार भने फरक–फरक हुन्छ । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहेको छ ।
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको छ । उपराष्ट्रपति पदमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिएका छन् ।