काठमाडौं । लोकप्रिय गायक नविन कार्कीले यस बर्षको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३ प्राप्त गरेका छन् । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा राजधानीमा सम्पन्न भएको कार्यक्रममा सर्वोत्कृष्ट युगल गायनतर्फ गायक कार्की र गायिका मेलिना राईले उक्त एवार्ड प्राप्त गरेका हुन् । सागरले मोती पायो बोलको युगल गीतमा डा. कृष्ण हरि बरालको शब्द र रिमेश कुमार थापाको संगीत रहेको छ ।
गीतमा भोला पौडेलको रेकर्डिङ र मिक्सिङ रहेको छ । गायक कार्की र गायिका राईको गीत ‘सागरले मोती पायोले युवा ढुकढुकी समेट्दै बजार तताएको छ । यसअघि दुई दर्जन बढी गीत बजारमा ल्याइसकेका नविनको यो नविन प्रस्तुतिले साँगीतिक बजारमा उनको उचाई थपेको छ ।
गीतको भिडियामो ‘कार्टुन क्रु’ का कलाकारले अभिनय गरेका छन् ।भिडियोमा कार्टुन क्रीउका सरोज अधिकारी र आश्मा विश्वकर्माले मुख्य अभिनय गरेका छन् । माया प्रेम जोडिएको यो गीतमा मेलिना र नविनको स्वर खुलेको छ भने गीतका शब्द र भाव अनुसार संगीत र गायनसँगै अभिनयमा तालमेल देखिन्छ ।
दोलखा जफेका गायक नविनका यसअघि कुवाको पानी उघाई खाएँ जलुकी पातैमा, महलमा राज होला तिम्रो, आँखाले हेरिनी जस्ता गीत श्रोतामाझ लोकप्रिय भइसकेका छन् । ती गीतले विभिन्न म्युजिक अवार्ड समेत हात पारेका छन् । निम अवार्ड बितरण समारोहमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीे प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा विशिष्ठ अतिथितका रुपमा पुर्व शिक्षा मन्त्री एवं पुर्व उपसभामुख चित्रलेखा यादव, बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र नृत्यकार संघका अध्यक्ष जनक कार्की, निर्देशक समाजका महासचिव जनकदिप पराजुली, चलचित्र निर्देशक ऋषि लामिछाने, पत्रकार डब्बु क्षेत्री, चलचित्र विकास बोर्डका चिरञ्जिवी गुरागाई लगायत विशिष्ठ व्यक्तित्वहरुको सहभागीता थियो ।
कार्यक्रममा बरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान ,संगीत पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार विदुर गिरीलाइ प्रदान गरिएको थियो भने बिभिन्न बिधामा बिभिन्न व्यक्तित्वहरु पनि सोही समारोहमा सम्मानित भए । कार्यक्रम गीतकार तथा सञ्चारकर्मी शान्तिप्रियको सभापतित्वमा सम्पन्न भएको थियो ।
नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं भन्ने मुल नारा लिएर विगत ६ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने सम्पुर्ण भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ ।
सम्पुर्ण भाषा भाषिका कलाकारहरुलाई प्रतिष्पर्धा भन्दा पनि सामुहिक मञ्च प्रदान गरेर आत्मियता भाईचार र एकताको सन्देश प्रवाह गर्ने उदेश्य लिएको आयोजक समितिका अध्यक्ष माधव राज खरेलले जानकारी दिए ।



