images
images

चैत दोस्रो साता ‘ग्लोबल मनी विक’ मनाइँदै


  • 225
    SHARES
  • २०७९ फाल्गुण ३० गते मंगलबार

    चैत दोस्रो साता ‘ग्लोबल मनी विक’ मनाइँदै

    काठमाडौं । ‘ग्लोबल मनी विक–२०२३’ चैत दोस्रो सातादेखि देशभर साताव्यापीरूपमा मनाइने भएको छ ।
          
    युवामा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा विश्वभर मनाइँदै आएको साप्ताहिक अभियान नेपालमा चैत ६ देखि १२ गते (मार्च २०–२६) सम्म मनाइने भएको हो ।
          
    सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामा मनाउन सुरु गरिएको यो सप्ताह अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसीडी) को संयोजनमा विश्वका धेरै मुलुकमा मनाइँदै आएको छ । 

    नेपालमा नेपाल राष्ट्र बैंकको संयोजनमा, बैंक तथा वित्तीय संस्था, सहकारी विभाग तथा सहकारी संस्था, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेशनल बैंकिङ इन्स्टिच्युट, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत निकाय तथा संस्थाले यो सप्ताह मनाउनेछन् ।
          
    युवामा वित्तीय ज्ञान र सीपमार्फत व्यावहारिकरूपमा सबल र सक्षम बनाई विवेकशील वित्तीय निर्णय लिने बनाउनु यो सप्ताहको मुख्य उद्देश्य रहेको नेपाल राष्ट्र बैंकका निर्देशक एवं सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए । 

    यो सप्ताह मनाउने क्रममा विद्यालय तथा क्याम्पसमा वित्तीय सचेतनामूलक कार्यक्रम गर्ने, वित्तीय चेतना अभिवृद्धिसम्बन्धी रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने र वित्तीय चेतनामूलक ¥याली आयोजना गर्ने जनाइएको छ ।
          
    ग्लोबल मनी विकको स्थायी नारा ‘सिक, बचत गर, र कमाउ’ (लर्न सेभ अर्न) हो भने ११औँ शृङ्खलाका रूपमा मनाइने ग्लोबल मनी विक–२०२३ को नारा ‘आफ्नो पैसाको योजना बनाउ, आफ्नो भविष्य रोप’ (प्लान योर मनी, प्लान्ट योर फ्युचर) रहेको छ । यस वर्षको मनी विकले वित्तीय चेतना अभिवृद्धिमार्फत वित्तीय व्यवहारको दिगोपन र सबल वित्तीय वातावरण विकासमा जोड दिएको छ ।


    images
    images

    Logo