images
images

विदेशी लगानीकर्ताको समस्या समाधानका लागि एकल बिन्दु सेवा शुरु गर्दैछौं : प्रधानमन्त्री 


  • 215
    SHARES
  • २०७९ फाल्गुण ३० गते मंगलबार

    विदेशी लगानीकर्ताको समस्या समाधानका लागि एकल बिन्दु सेवा शुरु गर्दैछौं : प्रधानमन्त्री 

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलवार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको नेपाल–चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्ताहरुको समस्या समाधानका लागि सरकारले एकल बिन्दु सेवा शुुरु गर्ने विषयमा कानून बनाएर संसदबाट पारित गर्ने क्रममा रहेको बताएका हुन् ।

    प्रधानमन्त्री दाहालले सरकारले विदेशी लगानीकर्तालाई चाँडै नै सबै प्रकारका सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने घोषणा गरे । उनले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यक्ता रहेको उल्लेख गरे । उनले चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्ने बताए । 

    प्रधानमन्त्री दाहालले चीन सरकारले प्रतिवद्धता गरेअनुसारको लगानी नेपालले नपाउनुमा सरकारको नीति नियम कारक रहेकाले अफ्ठ्यारा नीति नियमलाई सहज बनाउँदै धेरै भन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिवद्ध रहेको जिकिर गरे । उनले नेपालबाट निर्यात हुने आयुर्वेदिक औषधि, तरकारी, चिया, मासु लगायतका उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थालाई सहज बनाउनसमेत आग्रह गरे। 

    उनले भने, ‘हामीलाई पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँनयाँ प्रविधिको आवश्यकता रहेको छ, चीनले हाम्रो यो आवश्यकता पूरा गर्न सहयोग गर्नेछ भन्ने मलाई विश्वास छ, सरकार अहिले विदेशी लगानीकर्तालाई सहज हुनेगरी वातावरण बनाउन प्रतिवद्ध रहेको छ । पछिल्लो समयमा चीन सरकारले प्रतिवद्धता गरेअनुसारको लगानी आउन सकेको छैन, त्यो अरुलाई दोष दिनुभन्दा हाम्रै सरकारका पोलिसीहरुका कारण हो । 

    ती समस्याको समाधान गर्न पनि हामी लागिपरेका छौँ । दुई देशबीचको व्यवसायिक सम्भावना खोज्न र उजागर गर्नको लागि निजी क्षेत्रको भुमिका प्रशंसनीय रहँदै आएको छ, अबका दिनमा पनि निजी क्षेत्रहरुले दुई देशबीचको व्यवसायलाई प्रवद्र्धन गर्न त्यत्तिकै भुमिका खेल्नेछ भन्ने मलाई विश्वास छ । त्यस्तै चीन सरकारले पछिल्लो समय पर्यटकका लागि खुला गरेको छ भने आफ्ना देशका नागरिकहरुलाई पनि विदेश जाने अनुमति दिएको छ । 

    हामी छिमेकी देश भएकाले र प्राकृतिक रुपमा पनि नेपाल सुन्दर देश भएकाले नेपालमा चिनियाँ पर्यटकहरुको स्वागतका लागि तयार छौँ । नेपाल र चीनबीच पछिल्लो समय जनस्तरको सम्बन्ध पनि विकास र बिस्तार हुँदै गएको छ । यसले आगामी दिनमा दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउने मैले विश्वास लिएको छु ।’

    प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेकाले नेपाली भूमि छिमेकीका बिरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल र चीनको सम्बन्ध बिस्तार हुँदै आएकाले आगामी दिनमा पन दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । 

    उनले नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुटमा आफ्नो बजारमा पहुँच दिएको बताए । उनले चीन सरकारले नेपाललाई पनि पर्यटकीय गन्तव्यको रुपमा राखेकाले चिनियाँ नागरिकहरु नेपाल भ्रमण गर्दा अर्थतन्त्र बिस्तर हुने विश्वास व्यक्त गरे । 

    दुईपक्षीय व्यापार प्रवर्धन गर्दै जाने चीन सरकारको नीति भएको बताए । उनले आफूहरु नेपालमा लगानी र सहकार्यका लागि नयाँ क्षेत्रहरु पहिचान गर्ने काममा लागेको पनि बताए । उनले आफूहरुले नेपालसँग स्वच्छ उर्जा, प्रविधि र विद्युतका क्षेत्रमा सहकार्य गर्नेसोच बनाएको बताए । 

    उनले भने, ‘चीन नेपालको राम्रो मित्र हो, विगत ६७ वर्षदेखि नेपाल र चीनबीछ दौत्य सम्बन्ध कायम रहेको छ । नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुट दिइ बजारमा पहुँच बिस्तार गरेको छ, त्यसले नेपालको निर्यात बढाउन सहयोग पुग्छ, साथै चीनले पर्यटकीय गन्तव्यस्थलको रुपमा नेपाललाई पनि समावेश गरेको छ, यसले पनि नेपालको अर्थतन्त्र थप बिस्तार हुनेछ, साथै हामी नेपालमा लगानी र सहकार्यका लागि नयाँ व्यापारिक क्षेत्रहरुको पहिचान गरिरहेका छौँ, स्वच्छ उर्जा, प्रविधि, विद्युतका क्षेत्रमा सहकार्य गर्ने हाम्रो सोच रहेको छ ।’

    कार्यक्रममा नेपालका लागि चीनका राजदुत चेन साङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

    उहाँले भन्नुभयो, ‘दुई छिमेकी देश चीन र नेपालबीच जनस्तरको सम्बन्धलाई बलियो बनाउनुपर्छ । हामीले दुई देशको व्यापारलाई बढाउँदै जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन जरुरी छ । जलविद्युत, ट्रान्समिसन लाइन, भौतिक पूर्वाधार निर्माणमा लगायतका क्षेत्रमा सहयोग गर्ने हामीले एक किसिमको सोच बनाएका छौँ ।’

    राजदुत साङले नेपालीहरुलाई चीन भ्रमण गर्न आग्रह गरे । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले चीन सरकारले नेपाली सीमानाकाहरु खोलेर व्यापारका लागि सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । 

    नेपाल र चीनका व्यपारीहरुबीच सोमवारदेखि छलफल शुरु भएको हो । करिव ४ वर्षपछि नेपाल र चीनका व्यवसायीहरुबीच छलफल भएको हो । बैठकमा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङसहितको १२ सदस्यीय टोली नेपाल आएको छ । -न्युज एजेन्सी नेपाल 

     


    images
    images

    Logo