काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको उडान–अवतरणको प्रतिबन्ध फुकुवा गरेपछि आजबाट नियमित उडान हुने भएको छ।
भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि प्राधिकरणले शुक्रबारदेखि श्री एयरका सबै उडान-अवतरणमा प्रतिबन्ध लगाएको थियो।
एयरलाइन्सले प्राधिकरणका विज्ञ टोलीद्वारा आफ्ना सबै जहाज जाँच तथा अध्ययन गरी पुनः सेवा सञ्चालन गर्न अनुमति शुक्रबार नै दिएको हो ।श्री एयरलाइन्सले एक सुचना जारी गर्दै आफूहरुमाथि लागेको प्रतिबन्ध फुकुवा भएको जानकारी दिएको छ। उक्त जहाजले शनिबारदेखि नियमित उडान गर्नेछर्ने एयरलाइन्सले जानकारी दिएको छ ।
‘नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञहरुको टोलीद्वारा यस एयरलाइन्सको सम्पूर्ण जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ, अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीयस्थिति तथा प्रशासनिक क्षमताको विस्तृत अध्ययन गरी श्री एयरलाइन्स उडानका लागि पूर्ण सुरक्षित भएकाले पुनस् सेवा सञ्चालन गर्न अनुमति प्रदान गरेको व्यहोरा हाम्रा सम्पूर्ण आदरणीय यात्रु तथा शुभचिन्तकहरुलाई जानकारी गराउन चाहन्छौं’ विज्ञप्तिमा उल्लेख छ।
श्री एयरले हवाई सुरक्षाका लागि सबै मापदण्ड पूरा गर्ने प्रतिबद्धतासमेत जनाएको छ। बिहीबार काठमाडौँबाट भैरहवा उडान भरेको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि उक्त जहाजलाई पुनः त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो ।
श्री एयरलाइन्सका साना–ठूला गरी आठ वटा जहाज छन् । तीमध्ये चार वटा मात्रै सञ्चालनमा छन् ।



