images
images

आङ्गिक क्याम्पसका बढी मतदाता, धेरै पृथ्वीनारायण क्याम्पसमा


  • 241
    SHARES
  • २०७९ फाल्गुण २७ गते शनिबार

    आङ्गिक क्याम्पसका बढी मतदाता, धेरै पृथ्वीनारायण क्याम्पसमा

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आङ्गिक क्याम्पसतर्फ करिब १ लाख ६३ हजार ८२ विद्यार्थी मतदाता रहेका छन् ।  
     
    त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले एउटा क्याम्पसबाहेक सबै आङ्गिक क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुने विद्यार्थी सङ्ख्या प्राप्त भएको बताए । 

    उनका अनुसार उपत्यकाको त्रिचन्द्र क्याम्पसबाहेक ६१ आङ्गिक क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुने मतदाता सङ्ख्या प्राप्त भएको छ । उनले त्रिचन्द्र क्याम्पसमा अझै निर्वाचन प्रक्रिया सुरु नभएकाले मतदाता सङ्ख्या यकिन नभएको बताए । 

    उपत्यकाका २१ क्याम्पसमा ६६ हजार छ सय ४६ र उपत्यका बाहिरका ४० क्याम्पसमा ९६ हजार ४ सय ३६ विद्यार्थी स्ववियु निर्वाचनमा मतदाता रहेका छन् । निर्देशक अधिकारीले सबैभन्दा धेरै विद्यार्थी पोखराको पृथ्वीनारायण (पिएन) बहुमुखी क्याम्पसमा रहेको बताए । 

    पिएन क्याम्पसमा १० हजार ८ सय ७० विद्यार्थी स्ववियु निर्वाचनमा सहभागी हुने जनाइएको छ । पिएनपछि ठाकुरराम बहुमुखी क्याम्पसमा १० हजार दुई सय ६२  तथा बुटवलको बुटवल बहुमुखी क्याम्पसमा ७ हजार १ सय ९ विद्यार्थी सहभागी हुँदैछन् । उपत्यका बाहिर सबभन्दा कम विद्यार्थी मतदाता चितवन इञ्जिनियरिङ क्याम्पस चितवनमा ७१ छन् । 

    उपत्यकामा धेरै शङ्करदेव क्याम्पस

    यस्तै उपत्यकामा सबभन्दा बढी विद्यार्थी शङ्करदेव क्याम्पसमा छन् । शङ्करदेवमा ८ हजार ४ सय ९० विद्यार्थी स्ववियु निर्वाचनमा मतदाता छन् । 

    शङ्करदेवपछि नेपाल कमर्स क्याम्पस मिनभवनमा ८ हजार १ सय ८८, पाटन संयुक्त क्याम्पसमा ७ हजार ६ सय ९ र पद्मकन्या बहुमुखी क्याम्पसमा ५ हजार ५ सय ९२ विद्यार्थी मतदाता छन् । त्रिविको केन्द्रीय क्याम्पसमा ३ हजार ३ सय ३९ मतदाता छन् । उपत्यकामा सबैभन्दा थोरै विद्यार्थी आयुर्वेद क्याम्पस कीर्तिपुरमा एक सय ५१ छन् । 

    देशभरका त्रिविका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा विद्यार्थी मतदाता छन् । करिब १ दशकदेखि हुन नसकेको स्ववियु निर्वाचनको चहलपहल बढेको छ । 

    चैत ५ गते हुने स्ववियु निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारलाई शुक्रबार मनोनयन पत्र वितरण गरिएको छ ।  आज  बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ । स्ववियु निर्वाचनको मतदान चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ । 


    images
    images

    Logo