काठमाडौं । सरकारी रकम हानीनोक्सानी गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिवन नगरपालिका–१० का वडाध्यक्ष शम्भुप्रसाद मैनालीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले शुक्रबार वडाध्यक्ष मैनालीसहित गौरीकुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध बिगो, कैद र जरिवाना मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार वडाध्यक्ष मैनालीविरुद्ध ९ लाख ३६ हजार रुपैयाँ बिगो मागदावी गरिएको छ । अख्तियारले मैनालीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ अनुसार १ वर्ष ६ महिनादेखि २ वर्ष ६ महिनासम्म कैद सजायँको पनि मागदाबी गरेको छ ।
त्यस्तै अर्का प्रतिवादी गौरीकुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध जनही ९ लाख ३६ हजार बिगो र मुख्य आरोपित मैनालीलाई मागदाबी गरिएको सजायको आधा सजाय गर्नुपर्ने विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख छ ।
मैनालीविरुद्ध वडा नम्बर १० को नयाँरोड बजार अन्तर्गतको पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लेख भएको न्यूनतम मूल्यभन्दा कम राखी रजिस्ट्रेसन पास गरेको कसुरमा मुद्दा दायर भएको हो ।
मैनालीले राजमार्गसँग जोडिएको जग्गालाई खेतीयोग्य र बाटो नभएको जग्गा उल्लेख गरेर रजिस्ट्रेसन पास गराएको र त्यसबाट सरकारलार्य ९ लाख ३६ हजार रुपैयाँ राजस्व हानीनोक्सानी भएको अख्तियारले जनाएको छ ।



