images
images

विशेष अदालतद्वारा ७ जनालाई जरिवाना र कैद सजायको फैसला


  • 334
    SHARES
  • २०७९ फाल्गुण २६ गते शुक्रबार

    विशेष अदालतद्वारा ७ जनालाई जरिवाना र कैद सजायको फैसला

    काठमाडौं । विशेष अदालतले समाज कल्याण परिषद्लाई २० करोड रुपैयाँभन्दा बढी हानी नोक्शानी पुर्याइ भ्रष्टाचार गरेको ठहर गर्दै ७ जनालाई जरिवाना र कैद सजायको फैसला गरेको छ । 

    विशेष अदालतले बद्रीप्रसाद न्यौपाने, प्रमोद मेहता, कुञ्ज विहारीप्रसाद चौधरी, हरि न्यौपाने, मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र रविन्द्र कुमारले बदनियतपूर्वक समाज कल्याण परिषद्लाई २० करोड ७१ लाख ३४ हजार ८ सय ३० रुपैयाँ हानी नोक्शानी पुर्याएको पुष्टि भएको भन्दै कैद र जरिवानासँगै बिगो समेत असुल उपर गर्ने फैसला गरेको हो । 

    न्यौपाने, मेहता, चौधरी र कुमारलाई भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम सजाय हुने साथै चौधरीको मृत्यु भइसकेकाले निजबाट बिगो मात्र असुल उपर गर्ने फैसला भएको विशेष अदालतका उप–रजिष्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए।

    फैसला अनुसार बद्रीप्रसाद न्यौपानेलाई ९ वर्ष कैद २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा नै बिगो र थप ६ महिना कैद गरिने भएको छ । त्यस्तै मेहतालाई ८ वर्ष कैद २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा बिगो र थप ६ महिना जरिवाना हुने उल्लेख गरिएको छ । 

    त्यसैगरी चौधरीलाई २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा बिगोको फैसला गरिएको छ ।न्यौपानेलाई ८ वर्ष कैद, २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो तोकिएको छ भने शर्मा, कर्ण र कुमारलाई पनि ८ वर्ष कैदका साथै २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो रकम तोकिएको छ । कुमारलाई थप ६ महिना कैद गरिने पनि उल्लेख गरिएको छ ।

    अर्का प्रतिवादी रविन्द्र गुरुङलाई २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरीवाना र त्यति नै बिगो समेत असुल उपर गर्ने ठहर भएको छ । त्यस्तै टेकबहादुर गुरुङलाई भने मतियार ठहर गर्दै १ करोड २१ लाख, ८४ हजार ४ सय १ रुपैयाँ ८० पैसा जरिवाना गरिने उल्लेख गरिएको छ । सो बिगो भने माथि उल्लेखित कसुरदारहरुबाट असुल उपर गरिने विशेष अदालतका उप–रजिष्टार भट्टराईले जानकारी दिए ।– न्युज एजेन्सी नेपाल 

     


    images
    images

    Logo